जमुनहा गाउँमा आगलागी हुँदा ११ घर र एक गोठ जलेर नष्ट
दाङ
१४-जेठ/ बाँकेको जमुनहा गाउँमा आगलागी भएको छ। नरैनापुर गाउँपालिका वडा नं. ५ को जमुनहा गाउँमा आइतबार दिउँसो १२ बजे भएको आगलागीमा ११ घर र एक गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगलागीबाट जब्बर खाँ, रन्जु यादव, बिहारी लाल कुम्हर, सलमान खाँ, राज करण कुम्हारलगायत ११ जनाको घर र फकिरे खाँको गोठमा पूर्ण क्षति भएको छ । प्रहरीले आगलागीबाट करिब १७ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी, गाउँपालिकाको दमकल, नेपालगञ्जको दमकल र स्थानीयहरूको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । १२ बजे सुरु भएको आगलागी ३ बजे नियन्त्रणमा आएको थियो। आगलागिबाट मानवीय क्षति नभए पनि एकिन विवरण भने संकलन भैरहेको प्रहरीले बताएको छ ।
नरैनापुरमा फुसको छानो बढी भएको र बस्ती एकदम घना भएकोले गर्मी महिनामा हरेक वर्ष दर्जनौँ आगलागीका घटनाहरु हुने गरेका छन्।