दंगीशरणमा बालविवाह न्यूनीकरण र बाल अधिकारसम्बन्धी दुईदिने कार्यशाला सुरु
दंगीशरण, दाङ ।
दंगीशरण गाउँपालिकाको आयोजना, Backward Society Education (BASE)को प्राविधिक सहयोग तथा Just Right for Childrenको आर्थिक सहयोगमा बालविवाह न्यूनीकरण तथा बाल अधिकारसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी सुरु भएको छ।
गाउँपालिका–३ स्थित चखौरा सङ्ग्रहालयमा सुरु भएको गोष्ठीको उद्घाटन गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा उपाध्यक्ष पिमा वली खड्का, प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपाली तथा बाल अधिकार परिषद्का सूचना अधिकारीलगायतको उपस्थिति रहेको थियो।
गोष्ठीमा दाङ र बाँके जिल्लाका १८ स्थानीय तहका सामाजिक विकास समितिका संयोजक, महिला तथा बालबालिका शाखा प्रमुख तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ। दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा बालविवाह न्यूनीकरण तथा बाल अधिकारका विषयमा विस्तृत छलफल हुने आयोजकले जनाएको छ।
कार्यक्रमको उद्घाटन सत्र सामाजिक विकास समितिका संयोजक रोशन जङ्ग शाहको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण गाउँपालिकाका लेखा अधिकृत ध्रुवराज न्यौपानेले गर्नुभएको थियो।
