March 6, 2026

दंगीशरणमा तीनदिने माघौटा मेला सम्पन्न, थारु कला र संस्कृतिको संरक्षणमा जोड

0

दंगीशरण, पौष २७ ।
दाङको दंगीशरण गाउँपालिकाले आयोजना गरेको तीनदिने दंगीशरण माघौटा मेला–२०८२ आइतबार भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ। “थारु भाषा, कला र संस्कृति दंगीशरणको पहिचान, माघौटा संस्कृति बचैना हमार अभियान” भन्ने मूल नारासहित आयोजित मेलाले थारु समुदायको मौलिक संस्कृति संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको आयोजकले जनाएको छ।
शुक्रबार नेपाल सरकारका पूर्व सिँचाइ मन्त्री तथा दाङ क्षेत्र नं. ३ का पूर्व संघीय सांसद दीपक गिरीले मेला उद्घाटन गर्नुभएको थियो। समापन समारोह माघौटा मेला मूल आयोजक समितिकी संयोजक मिना चौधरीको अध्यक्षता, जिल्ला समन्वय समिति दाङकी उपप्रमुख चेतना चौधरीको प्रमुख आतिथ्यता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी र उपाध्यक्ष पिमा वली खड्काको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।
तीन दिनसम्म सञ्चालन भएको मेलामा माघौटा नाचलगायत विविध सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रदर्शनी, परम्परागत खानाका परिकार तथा मनोरञ्जनात्मक गतिविधिहरू प्रस्तुत गरिएका थिए। मेलाले आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुगेको गाउँपालिकाले जनाएको छ।
समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले थारु संस्कृति संरक्षण तथा सम्बर्द्धनका लागि हरेक वर्ष माघौटा मेला आयोजना गर्दै आएको बताउनुभयो। दंगीशरण गाउँपालिकामा करिब ४४ प्रतिशत थारु समुदायको बसोबास रहेकाले उनीहरूको सम्मान र पहिचानका लागि स्थानीय सरकार सदैव प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।
उपाध्यक्ष पिमा वली खड्काले थारु संस्कृति संरक्षणका लागि पुस्तान्तरण आवश्यक रहेको उल्लेख गर्दै नयाँ पुस्तालाई परम्परासँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।
मेलाको अवसरमा दंगीशरण गाउँपालिकाभित्रका किसानहरूले उत्पादन गरेका अर्गानिक कृषि उपजहरूको प्रदर्शनी तथा दंगीशरण–५ का महिला उद्यमीहरूले उत्पादन गरेको ‘दंगीशरण डिटर्जेन्ट पाउडर सरफ’ सहितको कृषि मेला पनि आयोजना गरिएको थियो। IDE नेपाल, हेलेन केलर र ब्याकवर्ड सोसाइटी एजुकेसन बेसको आर्थिक सहयोगमा करिब ५० भन्दा बढी किसानलाई नगद र सम्मानपत्रसहित सम्मान गरिएको थियो।
मेलाको तेस्रो दिन चर्चित थारु कलाकार रोशन रत्गैयाँ, मोडल डिला घर्च्वार, गायक विशाल चौधरीलगायतले सांस्कृतिक प्रस्तुति दिएका थिए। तीन दिनसम्म सातै वडाबाट थारु परम्परा र संस्कृतिलाई झल्काउने करिब ६० वटा नाच प्रस्तुत गरिएको थियो।
माघौटा मेला समापन कार्यक्रमको सहजीकरण दंगीशरण गाउँपालिकाका योजना सहायक सन्तोष चौधरीले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *