March 6, 2026

दंगीशरणमा माघौटा मेला सुरु, थारु कला र संस्कृतिको संरक्षणमा जोड

0

दाङको दंगीशरणमा माघौटा मेला–२०८२ भव्य रूपमा सुरु भएको छ। थारु जातिको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले दंगीशरण गाउँपालिकाको आयोजनामा सुरु भएको मेलामा स्थानीय कला–संस्कृति झल्कने विविध कार्यक्रम प्रस्तुत गरिएका छन्।
“थारु भाषा, कला र संस्कृति दंगीशरणको पहिचान, माघौटा संस्कृति बचाउने हाम्रो अभियान” भन्ने मूल नारासहित सुरु भएको मेलामा थारु समुदायको माघौटा नाच, सांस्कृतिक झाँकी तथा परम्परागत पहिरनको आकर्षक प्रदर्शन गरिएको छ।
मेलाको उद्घाटन गर्दै कांग्रेस नेता एवं पूर्व सांसद दीपक गिरीले यस्ता सांस्कृतिक मेलाले नयाँ पुस्तालाई आफ्नै संस्कृतिसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले माघी पर्व थारु जातिको महत्वपूर्ण पर्व रहेको उल्लेख गर्दै यसको संरक्षणका लागि थारु समुदायका अगुवाहरू स्वयं अग्रसर हुनुपर्नेमा जोड दिनुभयो। लोप हुन लागेका परम्परागत कला र संस्कृतिको जगेर्ना आजको आवश्यकता भएको उहाँको भनाइ थियो।
कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि माघी पर्वमार्फत थारु पहिचान जोगाउनुपर्नेमा जोड दिनुभयो। पुराना पुस्ताबाट हस्तान्तरण हुँदै आएका कला–संस्कृतिलाई नयाँ पुस्तासँग जोडेर अघि बढाउन सकिने बताउँदै उहाँले माघौटा मेला थारु समुदायको मात्र नभई सम्पूर्ण दंगीशरणको सांस्कृतिक सम्पदा भएको उल्लेख गर्नुभयो।
माघौटा मेला पर्सीसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। मेलाको अवधिमा सांस्कृतिक कार्यक्रमसँगै स्थानीय उत्पादनको प्रदर्शनी, परम्परागत खानाका परिकार तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू समेटिनेछन्। मेलाले आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपाली, शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्री, बबई–७ का वडाध्यक्ष तिलकराम भण्डारी, दंगीशरण–६ का वडाध्यक्ष रोशनजंग शाह, वडा नं. १ का वडाध्यक्ष रमेश भण्डारी, वडा नं. ३ का वडाध्यक्ष शुकलाल चौधरी, विभिन्न राजनीतिक दलका नेता, सामाजिक अगुवा तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
गाउँपालिकाकी कार्यपालिका सदस्य तथा माघौटा मेला–२०८२ की मूल आयोजक समिति संयोजक मिना चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण गाउँपालिकाका योजना सहायक सन्तोष चौधरीले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *