शान्तिनगरमा मघौटा म्याला आयोजना हुने
दाङको शान्तिनगर गाउँपालिकामा थारु समुदायको महान पर्व माघीको अवसरमा मघौटा म्याला आयोजना हुने भएको छ। शान्तिनगर गाउँपालिकाको आयोजना तथा शान्तिनगर थारु समाजको सह–आयोजनामा आगामी पुष २७ र २८ गते शान्तिनगर गाउँपालिका–५, बैंशा सभाहलको प्राङ्गणमा म्याला सञ्चालन गरिने भएको हो।
सो सम्बन्धमा सोमबार बसेको भेलाले मघौटा म्याला सञ्चालन गर्ने निर्णय गरेको हो। भेला शान्तिनगर गाउँपालिका सामाजिक विकास समिति संयोजक एवं वडा नम्बर ५ का वडा अध्यक्ष ओपेन्द्र बहादुर रावतको अध्यक्षतामा सम्पन्न भएको थियो। भेलामा शान्तिनगरका थारु जनप्रतिनिधि, मतवा, अगुवा, बुद्धिजीवी तथा विभिन्न समूहका अध्यक्ष एवं प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
शान्तिनगर थारु समाजका अध्यक्ष यादव चौधरीका अनुसार थारु समुदायको मौलिक संस्कृति, पहिचान र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ मघौटा म्याला आयोजना गर्न लागिएको हो। भेलाले म्यालालाई सभ्य, भव्य र व्यवस्थित रूपमा सञ्चालन गर्न विभिन्न उपसमितिहरू समेत गठन गरेको छ।
