March 6, 2026

दंगीशरणमा आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा उद्घाटन

0

दंगीशरण गाउँपालिकामा गाउँपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा उद्घाटन गरिएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल उद्देश्यका साथ दंगीशरण गाउँपालिकाको आयोजना तथा भानु माध्यमिक विद्यालय दंगीशरण–६, प्रसडुवाको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन गरिएको हो।
सोमबार आयोजित औपचारिक समारोहका बीच लुम्बिनी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री चौधरीले खेलाडी र खेलक्षेत्रको विकासका लागि आफू सधैँ प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले रनिङ शिल्ड प्रतियोगिता खेलाडीहरूको सपना साकार पार्ने मुख्य आधार भएको उल्लेख गर्दै खेलकुदको माध्यमबाट दंगीशरणलाई चिनाउन प्रदेश सरकारबाट भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वडा नम्बर ६ का वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक रोशन जंग शाहको अध्यक्षता, लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी र उपाध्यक्ष पिमा वली खड्काको विशिष्ट आतिथ्यतामा उद्घाटन गरिएको हो।
उद्घाटन समारोहमा शिक्षा शाखा प्रमुख विनोद अधिकारी, गाउँपालिकाका प्रवक्ता रमेश भण्डारी, विद्यालय अक्षयकोष दाता बामदेव शर्मा, वीरेंद्र नमुना माध्यमिक विद्यालय हेकुलीका प्रधानाध्यापक लक्ष्मण बस्नेत, खेलकुद विकास समिति दाङका कार्यालय प्रमुख राकेश परियार, शिक्षक महासंघ दंगीशरणका अध्यक्ष खेमराज बुढाथोकी, सिद्धपृथ्वी जनता माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष दीपक देवकोटा लगायतले खेलकुदको महत्वबारे आफ्ना धारणा राख्नुभएको थियो।
उद्घाटन सत्रमा सहभागी गाउँपालिकाभित्रका संस्थागत तथा सामुदायिक विद्यालय गरी १० वटा विद्यालयका विद्यार्थीहरूले मार्चपास प्रदर्शन गरेका थिए। मार्चपास प्रतियोगितामा भानु माध्यमिक विद्यालय प्रसडुवा प्रथम, ज्ञानोदय बोर्डिङ स्कुल सरुवाडाडा द्वितीय, लाइफ भिजन बोर्डिङ स्कुल सिम्ठाना तृतीय र वीरेंद्र माध्यमिक विद्यालय सान्त्वना भएका छन्।
विद्यालयका शिक्षक कैलाश अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक महेन्द्र केसीले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *