April 21, 2026

दंगीशरणका शिक्षकहरूका लागि ८ दिने एकीकृत पाठ्यक्रम तालिम सम्पन्न

0

दंगीशरण गाउँपालिकाका शिक्षकहरूका लागि ८ दिने एकीकृत पाठ्यक्रमसम्बन्धी तालिम सम्पन्न भएको छ। दंगीशरण गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा बदलिँदो कथाहरू नेपालको सहकार्यमा कक्षा १–३ का लागि एकीकृत पाठ्यक्रमसम्बन्धी कस्टमाइज्ड तालिम सञ्चालन गरिएको हो।
तालिमको समापन समारोह शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विनोद अधिकारीको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले तालिम लिएर मात्र नपुग्ने र त्यसबाट प्राप्त ज्ञान व्यवहारमा उतार्न सके मात्र तालिम सार्थक हुने बताउनुभयो। उहाँले संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्न सामुदायिक विद्यालयहरू अझ सक्षम र प्रभावकारी बन्नुपर्नेमा जोड दिनुभयो। शिक्षाको जग प्राथमिक तह भएकाले यस तहलाई मजबुत बनाउनु अत्यन्त आवश्यक रहेको उहाँको भनाइ थियो।
शिक्षकलाई बलिरहेको मैनबत्तीसँग तुलना गर्दै अध्यक्ष गिरीले आफू घटेर पनि अरूलाई उज्यालो दिने पवित्र पेशा शिक्षकको भएको उल्लेख गर्नुभयो। तालिममा सिकेका सीप र ज्ञान कक्षाकोठामा प्रयोग गर्न उहाँले सहभागी शिक्षक–शिक्षिकालाई आग्रह गर्नुभयो।
तालिम समापन अवसरमा लक्ष्मी नारायण आधारभूत विद्यालय, सलौरा का शिक्षक नन्द खड्का तथा आधारभूत विद्यालय, बाकी बेटारपुरकी शिक्षिका सुनिता न्यौपानेले तालिमबाट प्राप्त सिकाइ र अनुभवहरू साझा गर्नुभएको थियो।
तालिममा दंगीशरण गाउँपालिकाका १५ वटै सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरूको सहभागिता रहेको थियो। बालबालिकालाई प्रभावकारी रूपमा सिकाउने तरिका, उनीहरूको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने विधि तथा जीवनपर्यन्त शिक्षाका आधार निर्माण गर्ने विषयमा तालिम केन्द्रित रहेको सहभागीहरूले बताएका छन्।
तालिमका प्रशिक्षकका रूपमा दिपेन्द्र भट्ट र सुरक्षा भट्टराई रहनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो