दंगीशरणमा सिकल सेल तथा थालासेमिया परीक्षण शिविर सम्पन्न
दंगीशरण, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजना तथा दंगीशरण गाउँपालिकाको समन्वयमा सिकल सेल एनिमिया तथा थालासेमिया रोगको निःशुल्क परीक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ।
गाउँपालिका–३ स्थित हेकुली स्वास्थ्य चौकीमा आयोजित शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष शम्भु गिरीले गर्नुभएको थियो। शुक्रबार सम्पन्न शिविरमा कुल ४३२ जनाले रगत परीक्षण गराएका छन्, जसमा १२२ पुरुष र ३१० महिला रहेका छन्। उक्त जानकारी अस्पतालका प्रशासन अधिकृत सालिकराम कालाथोकीले दिनुभयो।
गाउँपालिका अध्यक्ष गिरीका अनुसार शिविरमा दंगीशरणका सबै ७ वटै वडाका नागरिक, विशेषगरी थारु समुदायका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। लक्षित समुदायलाई ध्यानमा राख्दै शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो।
प्रतिकूल मौसमका बाबजुद पनि उल्लेख्य संख्यामा सेवाग्राहीको सहभागिता देखिएकाले आगामी दिनमा यस्ता शिविरहरू पुनः सञ्चालन गरिने अध्यक्ष गिरीले जानकारी दिनुभयो। शिविरमा सहभागी हुन सहजताका लागि प्रत्येक वडाबाट बसको व्यवस्था समेत गरिएको थियो।
