पश्चिम नेपालमा तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह
दाङ । पश्चिम नेपालका विभिन्न क्षेत्रमा आज तीव्र गतिको हावाहुरी चल्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी प्रदेशअन्तर्गत दाङ र नेपालगञ्जसहित तराईका जिल्लाहरूमा तीव्र हावाहुरी चल्ने जोखिम रहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिन देशका विभिन्न भागमा ठूलो वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना रहेको जनाउँदै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा ठूलो वर्षा र हिमपात हुन सक्ने सम्भावना छ। हिमपातका कारण चिसो बढ्ने र जनजीवन प्रभावित हुन सक्ने भएकाले त्यस्ता क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन भनिएको छ।
प्रि–मनसुनको समयमा हुने हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुन सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ।
संभावित जोखिमबाट बच्न प्राधिकरणले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, सुरक्षित स्थानमा बस्न, हावाहुरीका बेला झ्याल–ढोका मजबुत रूपमा बन्द गर्न, आगोका स्रोतहरू सुरक्षित राख्न तथा सवारी साधन चलाइरहेको अवस्थामा सुरक्षित स्थानमा रोकेर बस्न अनुरोध गरेको छ। साथै अग्ला रुख, बिजुलीका खम्बा तथा तारमुनि नबस्न र लत्रिएका तार नछुन समेत आग्रह गरिएको छ।
