प्रधानाध्यापक डिल्लीराज आचार्यको बिदाइ : ३६ वर्षको समर्पणलाई विद्यालयले गर्यो सम्मान
दंगीशरण, कार्तिक १४।
श्री लक्ष्मीनारायण आधारभूत विद्यालय, दंगीशरण–५ सलौराले उमेर हदका कारण अनिवार्य अवकाश लिनुभएका प्रधानाध्यापक डिल्लीराज आचार्यलाई एक भव्य समारोहका बीच बिदाइ गरेको छ। सन् २०४६ सालदेखि शिक्षण पेशामा निरन्तर सक्रिय रहँदै ३६ वर्ष ११ महिना १८ दिनसम्म विद्यालय र समुदायका लागि योगदान पुर्याएका आचार्यको योगदानको उच्च प्रशंसा गर्दै बिदाइ गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास पुनःस्थापना गर्नु आजको प्रमुख आवश्यकता रहेको बताउँदै, “योग्य शिक्षक र भौतिक पूर्वाधार भएका विद्यालयहरूमा पनि विद्यार्थी घट्दै जानु चिन्ताको विषय हो,” भने। उनले भ्रष्टाचारमुक्त, सुसासनयुक्त गाउँपालिका निर्माणमा आफू लागिपरेको उल्लेख गर्दै, २०७९ सालको S.E.E. परीक्षामा सामुदायिक विद्यालयतर्फ दाङमा पहिलो स्थान प्राप्त गरेकोमा सबै शिक्षक, विद्यालय र शिक्षासाखालाई धन्यवाद पनि दिए।
त्यसैगरी, विशेष अतिथि शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिनोद अधिकारीले विद्यालय समुदायको ऐना भएको बताउँदै, सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि स्थानीय नागरिकको सकारात्मक भूमिका अत्यावश्यक रहेको बताए।
समारोह विद्यालय व्यवस्थापन समिति अध्यक्ष भरत चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता र शाखा प्रमुख बिनोद अधिकारीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक गोबिन्द प्रसाद आचार्य, दाता डिल्लीराज धिताल, पूर्व शिक्षक अभिभावक संघ अध्यक्ष राधा आचार्य, युवातर्फ अर्जुन खत्री, सदस्य जमुना खत्री, विद्यार्थी बिन्दु देवकोटा, पूर्व अध्यक्ष खुमलाल भण्डारी, वडा सदस्य भुमप्रसाद देवकोटा, पूर्व समिति अध्यक्ष दामोदर उपाध्याय, र प्रमोद आचार्यलगायतले आफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रममा वक्ताहरूले प्रधानाध्यापक आचार्यको निष्ठा, अनुशासन र विद्यालय विकासप्रतिको समर्पणको प्रशंसा गर्दै उहाँलाई शिक्षा क्षेत्रको प्रेरणास्रोतका रूपमा चित्रित गरे।
सो अवसरमा समाजसेवी चेतलाल न्यौपानेले विद्यालयलाई ८ सेट फोहर फाल्ने डस्टबिन हस्तान्तरण गर्दै विद्यालय स्वच्छता अभियानमा सहयोग गरे, जसका लागि उनलाई विद्यालयले सम्मानपत्र सहित सम्मान गरेको थियो।
कार्यक्रममा विद्यालयका छात्रा इच्छा चौधरी लगायत विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन शिक्षक मनोज देवकोटाले र स्वागत मन्तव्य शिक्षक गणेशकुमारी केसिले गर्नुभएको थियो।
