April 18, 2026

बाँकेमा बाघको आक्रमणबाट एकजनाको मृत्यु, आक्रोशित स्थानीयद्वारा रेन्जर र पत्रकारमाथि कुटपिट

0

बाँके, ८ कात्तिक । बाँकेमा बाघको आक्रमणमा परी एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती सोनारी गाउँपालिका–९ गुरुवागाउँ नमुना टोल निवासी ४० वर्षीय इन्द्र बहादुर खत्री रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार खत्री शुक्रबार दिउँसो राप्ती सोनारी–९ को रिम्ना सामुदायिक वनमा घाँस काट्न गएका थिए । साँझसम्म घर नफर्किएपछि स्थानीयहरूले खोजतलास गर्दा शनिबार बिहान करिब साढे ७ बजे बाघको आक्रमणमा परेको अवस्थामा उहाँको शव फेला परेको हो ।

प्रहरीका अनुसार शव तीन टुक्रा भएको अवस्थामा फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ । बाँके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा यसअघि पनि बाघ र चितुवाको आक्रमणका घटना भइरहेकाले स्थानीयहरू त्रसित बनेका छन् । प्रहरीले स्थानीयलाई घाँस–दाउरा गर्न जाँदा एक्लै नजान र साँझपख वन नजिक नजान आग्रह गरेको छ ।

घटनापछि निकुञ्जको कमजोरीप्रति आक्रोशित स्थानीयहरूले बाँके राष्ट्रिय निकुञ्जका रेन्जर जयहरी धिताल र कोहलपुर टुडेका पत्रकार डिल्ली शाहीलाई कुटपिट गरेका छन् ।
राप्ती सोनारी–९ का स्थानीयले बाघको आक्रमणपछि पनि निकुञ्ज प्रशासनले कुनै प्रतिक्रिया नदेखाएको भन्दै रिसका आवेगमा रेन्जर धिताललाई कुटपिट गरेका हुन् ।

समाचार संकलनका लागि पुगेका पत्रकार शाहीलाई भिडियो डिलिट गर्न दबाब दिँदै कुटपिट गरिएको थियो । साथै, मध्यवर्ती सामुदायिक वनका अध्यक्ष दलबहादुर खड्कामाथि समेत हातपात गरिएको र दुई जना स्काउटलाई समेत घकलपकड गरिएको प्रहरीले जनाएको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय कोहलपुर र निकुञ्ज प्रशासनले स्थिति नियन्त्रणमा लिन पहल गरेको छ भने दुवै घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो