दंगीशरण गाउँपालिका–७ मा नयाँ मतदान केन्द्र सिफारिस
दंगीशरण, २० कात्तिक ।
दंगीशरण गाउँपालिकाको वडा नं. ७ मा नयाँ मतदान केन्द्र थप गर्न सिफारिस गरिएको छ।
वडा नं. ७ का सिम्ठाना, सिम्ठानी र कोइराल डाँडाका नागरिकहरूले हालसम्म जनता माध्यमिक विद्यालय, बुटनियासम्म पुग्न दुईवटा बुथ केन्द्र पार गर्नुपर्ने बाध्यता रहेको भन्दै, उनीहरूको सहजताका लागि गाउँपालिका अध्यक्ष शम्भु गिरीको पहलमा रात्री आधारभूत विद्यालय, सिम्ठानामा नयाँ मतदान केन्द्र सिफारिस गरिएको हो।
निर्वाचन आयोगको परिपत्रअनुसार विहीवार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न बैठकमा उक्त सिफारिस औपचारिक रूपमा गरिएको गाउँपालिकाले जनाएको छ।
निर्वाचन कार्यालयका अनुसार नयाँ थपिने मतदान केन्द्रमा कम्तीमा ७०० मतदाता हुने गरी व्यवस्था गरिनेछ। साथै, त्यहाँका मतदाताको नामावली सर्वदलीय र सर्वपक्षीय छलफल गरी सिफारिस गरिने गाउँपालिका अध्यक्ष गिरीले जानकारी दिनुभयो।
