दंगीशरणमा राष्ट्रिय सूचना दिवसको अवसरमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
दंगीशरण, भाद्र ३ – दाङको दंगीशरण गाउँपालिकाले राष्ट्रिय सूचना दिवसको अवसरमा मंगलबार एक विशेष अन्तर्क्रिया कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न गरेको छ।
गाउँपालिकाका सूचना अधिकारी टेक बहादुर खत्रीले २०६५ साल भाद्र ३ गतेदेखि सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५ लागू भएको स्मरण गर्दै हरेक वर्ष भाद्र ३ गते सूचना दिवस मनाउँदै आएको जानकारी दिए।
गाउँपालिका अध्यक्ष शम्भु गिरीले कार्यक्रममा बोल्दै, सूचनाको हक नागरिक अधिकारसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले यसलाई व्यवहारमा उतार्न गाउँपालिकाले सूचना अधिकारी तोक्ने व्यवस्था गरेको बताए। उनले कर्मचारीलाई “सूचना पाउने हकको सम्मान गर्नुपर्ने” भन्दै सचेत रहन सुझाव दिए। तर नागरिकले व्यक्तिगत वा असम्बन्धित विषयमा सूचना माग्नु उचित नहुने पनि उनले स्पष्ट पारे।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालीले गाउँपालिकामा सीमित व्यक्तिहरूले मात्र सूचना माग्ने गरेको उल्लेख गर्दै, कतिपयले अनावश्यक र असम्बन्धित विषयमा सूचना खोज्दा झन्झट सिर्जना हुने गरेको बताए। उनले सूचनालाई समयमै अद्यावधिक गर्न कर्मचारीलाई निर्देशन दिए।
अधिकांश वक्ताहरूले पनि अनावश्यक रूपमा झन्झट दिनेको नियतले सूचना माग्ने प्रवृत्ति घटाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रम अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपाली, गाउँपालिका प्रवक्ता रमेश भण्डारीसहित जनप्रतिनिधि र कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सूचना अधिकारी टेक बहादुर खत्रीले सूचना दिवससम्बन्धी प्रस्तुति दिएका थिए। स्वागत मन्तव्य लेखा अधिकृत ध्रुवराज न्यौपानेले गरेका थिए भने सहजीकरण प्रशासकीय अधिकृत सुदिप डाँगीले गरेका थिए।
