अट्वारी पर्वमा दुई दिन सार्वजनिक बिदा दिन थारु कल्याणकारिणी सभाको माग
दाङ, भदौ ३ – थारु समुदायको महान पर्व अट्वारीको अवसरमा प्रदेश र स्थानीय सरकारले दुई दिनको सार्वजनिक बिदा दिनुपर्ने माग थारु कल्याणकारिणी सभा दाङले गरेको छ।
सोमबार बेलुकी जारी गरिएको प्रेस विज्ञप्तिमा सभाका अध्यक्ष अशोक कुमार चौधरीले अट्वारीलाई थारु समुदायले विशेष श्रद्धा र उत्साहका साथ मनाउने परम्परा रहेको उल्लेख गर्दै “अट्वारीको पहिलो दिन दिभरी ब्रत बसेर पूजापाठ गर्ने, दोस्रो दिन दिदीबहिनीलाई अग्रासन दिने चलन भएकाले दुई दिन बिदा अपरिहार्य छ,” भनेका छन्।
यसैबीच, सभाले यस वर्षको अट्वारी भदौ ८ गते परेको भन्दै सम्पूर्ण थारु समुदायलाई सोही दिन पर्व मनाउन आह्वान गरेको छ।
थारु बुद्धिजीवी र संस्कृतिविद्हरूको सल्लाहअनुसार, परम्परागत रूपमा अष्टिम्की पर्वपछिको दोस्रो आइतबार, अर्थात् कुश अमावस्या (कुशे औंसी) पछिको पहिलो आइतबार अट्वारी मनाइँदै आएको विज्ञप्तिमा उल्लेख छ।
थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य तथा दाङका पूर्वअध्यक्ष भुवन चौधरीले पनि यस वर्षको वास्तविक अट्वारी भदौ ८ गते नै परेको पुष्टि गरेका छन्। उनले भने, “अष्टमीपछि कुश अमावस्या आएपछि पर्न जाने पहिलो आइतबार नै अट्वारी हो, त्यसैले भदौ ८ गते अट्वारी परेको हो।”
यस्तै लेखक छविलाल कोपिलाले पनि परम्पराअनुसार अष्टिम्कीपछिको दोस्रो आइतबार अट्वारी मनाइने भएकाले यो वर्ष भदौ ८ गते अट्वारी पर्व परेको बताए।
