April 21, 2026

थारु समुदायको महान् पर्व अष्टिम्की आज धुमधामका साथ मनाइँदै

0

दाङ – थारु समुदायको महिलाले मनाउने महान् पर्व अष्टिम्की अर्थात् श्रीकृष्ण जन्माष्टमी आज धुमधामका साथ मनाइँदै छ। हरेक वर्ष कृष्ण जन्माष्टमीको दिन मनाइने यो पर्व यस वर्ष साउन ३१ गते, शनिबार परेको छ।

अष्टिम्कीको तयारीका क्रममा थारु समुदायका घरआँगन लिपपोत गर्ने, सरसफाइ गर्ने, जंगलबाट सालका पात टिप्ने र डुनाटपरी लगाउने काम भइरहेका छन्। बजार क्षेत्रमा लत्ता–कपडादेखि जुत्ता–चप्पल, श्रृंगारका सामानसम्म किनमेल गर्ने भीड देखिएको छ। विशेषगरी सेतो गुन्यु र रातो, कालो, हरियो रंगका चोल्या लगाउने चलन यस समुदायमा रहँदै आएको छ।

यो पर्व महिलामुखी भएकाले थारु महिलाले दुई दिनसम्म धुमधामका साथ मनाउने गर्छन्। पहिलो दिन बिहानैदेखि व्रत बसेर मटाँवाको घरको बैठकको उत्तरपट्टि चुनाले लिपपोत गरि श्रीकृष्णको चित्र विशेषरुपमा कोरिन्छ। चित्रमा दायाँ सूर्य, बाँया चन्द्रमा, दोस्रो पंक्तिमा पाँच पाण्डव र सात कौरव, तलको भागमा दुलाहा–दुलही, डोली, ड्वाला, माछा, गंगुता, बाघ, हात्ती, मयूर, सर्प, गाई लगायत विभिन्न जनावर र चराचुरुङ्गी चित्रण गरिन्छ।

साँझपख गाउँभरिका महिलाले खोलामा सामूहिक स्नान गरेर रातो, कालो चोली, सेतो गुन्यु, लंहगाँ र थरिथरिका गहना–गठनाले सजिएर, दियो र रंगीचंगी फूलसहित मटाँवाको घरमा पूजा अर्चना गर्दछन्।

यस पर्वमा ‘अग्रासन’ नामक प्रचलन पनि महत्वपूर्ण छ, जसअन्तर्गत दिदीबहिनीहरूले आफ्नै हातले बनाएका परिकार दाजुभाइलाई खुवाउँछन्। अष्टिम्कीलाई देवी–देवता प्रति आस्था नवीकरण गर्ने, साथै माइती पक्ष र चेली–बेटीबीचको माया, प्रेम र सम्बन्ध बलियो बनाउने पर्वका रूपमा लिइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो