डा.’ दाबी गर्ने प्रकाश भुजेलको उपाधि नक्कली ठहर
काठमाडौं — आफूलाई ‘झाँक्री’ र ‘तान्त्रिक डाक्टर’ भन्दै सामाजिक सञ्जालमा ‘Dr.’ उपाधि प्रयोग गर्दै आएका प्रकाश भुजेलको प्रमाणपत्र अवैध ठहरिएको छ।
भुजेलले उक्त उपाधि ‘इन्स्टिच्युट अफ आन्टरप्रेनरशिप एन्ड म्यानेजमेन्ट स्टडिज’ (आईईएमएस) बाट पाएको दाबी गरेका छन्। तर आईईएमएस कुनै मान्यता प्राप्त विश्वविद्यालय नभएको र भारतको युनिभर्सिटी ग्रान्ट कमिसन (यूजीसी) वा अन्य आधिकारिक निकायबाट विद्यावारिधि प्रदान गर्ने अधिकार प्राप्त नगरेको प्रमाणित भएको छ।
आईईएमएससँग सम्बन्धन रहेको भनिएको अमेरिकी संस्था ‘एसीटीडी’ को वैधता पनि शंकास्पद छ। प्रमाणपत्रमा नामको स्पेलिङ गल्ती, अनावश्यक आईएसओ नम्बरको प्रयोग र संस्थाको वेबसाइट तथा ठेगानामा विश्वसनीयता नदेखिनुले यसको प्रामाणिकतामा थप प्रश्न उठाएको छ।
नेपाल मेडिकल काउन्सिल ऐन, २०२० अनुसार, केवल मान्यता प्राप्त मेडिकल डिग्री र काउन्सिल दर्ता भएकाले मात्र ‘डा.’ उपाधि प्रयोग गर्न पाउँछन्। गैरकानुनी रूपमा उपाधि प्रयोग गर्नेलाई ३ वर्षसम्म कैद, जरिवाना वा दुवै सजायको व्यवस्था छ।
सामाजिक सञ्जालमा भुजेलले गरेको भ्रामक उपाधि प्रयोगले सर्वसाधारणमा भ्रम सिर्जना गर्ने र वैध स्वास्थ्य पद्धतिप्रति अविश्वास बढाउने जोखिम रहेको विज्ञहरूको भनाइ छ।
