रवि लामिछाने नक्खु कारागारमा सरुवा हुने
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देहीको भैरहवा कारागारबाट ललितपुरको नक्खु कारागारमा सरुवा गर्ने निर्णय भएको छ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले शुक्रबार सरुवाको निर्णय गरेका हुन्। लामिछानेले यसअघि नै अदालत र जिल्ला प्रशासन कार्यालयबाट कारागार सरुवाको अनुमति पाइसकेका थिए। तर, गृहमन्त्री रमेश लेखकको निर्देशनमा सरुवा प्रक्रिया लामो समय रोकिएको भन्दै आलोचना भइरहेको थियो।
गत हप्ता राष्ट्रिय मानवअधिकार आयोगले कारागार निरीक्षणका क्रममा सबै प्रक्रिया पूरा भइसके पनि सरुवा नगरिएकोमा ध्यानाकर्षण गराएको थियो।
महानिर्देशक शर्माका अनुसार, “अब रुपन्देही कारागारले आवश्यक प्रक्रिया पूरा गरेर उहाँलाई नक्खु कारागारमा पठाउनेछ। यो नियमित प्रक्रिया हो र उहाँले पनि सरुवा माग गर्नुभएको थियो।”
