दंगीशरण–६ मा ४५ दिने कटाइ–सिलाइ तालिम सम्पन्न
दंगीशरण, साउन ३० —
दंगीशरण गाउँपालिका वडा नं. ६ को आयोजनामा सञ्चालित ४५ दिने कटाइ–सिलाइ तालिम शुक्रबार एक औपचारिक कार्यक्रमका बीच सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता वडा नं. ६ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक रोशन जंग शाहले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपाली उपस्थित हुनुहुन्थ्यो।
समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष शाहले वडा भित्रका नागरिकलाई सीप प्रदान गरी उद्यमशील बनाउनु आफ्नो प्रमुख सोच रहेको उल्लेख गर्नुभयो। उहाँले सिपमूलक तालिमको सार्थकता सावित गर्न सहभागीले उद्यम सुरु गरेर उदाहरण प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, प्रमुख अतिथि कर्ण बहादुर नेपालीले सिप सिकेर व्यावसायमा लाग्न सके आय–आर्जनमा ठुलो योगदान पुग्ने बताउनुभयो। उहाँका अनुसार, यस्तो तालिमले स्वरोजगारको अवसर सिर्जना गर्नुका साथै आर्थिक सशक्तिकरणमा मद्दत पुर्याउँछ।
उक्त तालिममा प्रशिक्षकका रूपमा सोभा बुढाथोकीले ४५ दिनसम्म सहभागीहरूलाई कटाइ–सिलाइ सम्बन्धी सीप प्रदान गर्नुभएको थियो।

