राप्ती प्रादेशिक अस्पतालमा मन्त्री सारुको छड्के अनुगमन, सेवा सुधारका लागि कडा निर्देशन
दाङ । सेवाग्राहीको बढ्दो गुनासोपछि लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले आज बिहानै राप्ती प्रादेशिक अस्पताल, दाङको आकस्मिक छड्के अनुगमन गरेका छन्। प्रदेश सचिव दुर्गालक्ष्मी श्रेष्ठ र स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीसहितको टोलीले अस्पतालको सेवा, टिकट काउण्टर, टोकन प्रणाली, लाइन व्यवस्थापनदेखि महिला, ज्येष्ठ नागरिक, अपांग तथा अशक्तका लागि उपलब्ध सहुलियतसम्मको अवस्था प्रत्यक्ष अवलोकन गर्यो।
निरीक्षणमा समयमा डाक्टर नआउने, धेरै कर्मचारीले सरकारी पोशाक नलगाउने, केही कोठामा बत्ति नै नभएकोजस्ता कमजोरी फेला परे। स्थायी डाक्टरले समयमै अस्पतालमा उपस्थित नहुनु र व्यक्तिगत अस्पतालतर्फ बढी समय दिनेजस्ता गुनासो सेवाग्राहीले मन्त्रीसमक्ष राखे।
मन्त्री सारुले बिरामीसँगको व्यवहार सुधार्न, भिड व्यवस्थापनका लागि तत्काल योजना बनाउन, बिहान सेवा सुरु हुनु अघि दैनिक कन्फ्रेन्सको व्यवस्था गर्न र सरकारी अस्पतालबाहिर अभ्यास गर्न स्वीकृति अनिवार्य गर्न निर्देशन दिए।
प्रदेश सचिव श्रेष्ठले पूर्ण हाजिरी लागू गर्न, ड्रेस कोडको पालना गर्न, डाक्टर र कर्मचारीलाई पुरा समय अस्पतालमै राख्न तथा फार्मेसीमा अभाव भएका औषधि तुरुन्त उपलब्ध गराउन अस्पताल प्रशासनलाई आग्रह गरिन्।
अस्पतालका मेसु पदमराज अधिकारीले सीमित स्रोतसाधनका बाबजुद सेवा प्रवाह गरिरहेको बताउँदै मन्त्रीस्तरीय अनुगमनले सुधारका लागि थप हौसला मिलेको प्रतिक्रिया दिए।
