April 18, 2026

रोल्पामा जिप दुर्घटना, १४ जना घाइते, चारको अवस्था गम्भीर

0

दाङ, साउन २८ — रोल्पाको घर्ती गाउँमा यात्रुबाहक जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

गम्भीर घाइते हुनेमा माडी गाउँपालिका–१ आरलनेटाका ४२ वर्षीय तिलराम खत्री, माडी–३ दारेकाटनाका ५५ वर्षीय कमल वली, सोही ठाउँकी ६० वर्षीया कौशिला वली र परिवर्तन गाउँपालिका–३ बागमाराकी २५ वर्षीया पवित्रा रोका मगर रहेका छन्। प्रहरीका अनुसार उनीहरू सबै अचेत अवस्थामा छन्।

दुर्घटनामा इलाका प्रहरी कार्यालय घर्ती गाउँमा कार्यरत प्रहरी जवान कमलेश यादवसहित अन्य नौ जना सामान्य घाइते भएका छन्। उनीहरूलाई माडी गाउँपालिका–२ घर्ती गाउँस्थित स्मृति अस्पतालमा उपचार भइरहेको छ।

दाङको घोराहीबाट सहिद मार्ग हुँदै रोल्पाको तालावाङतर्फ जाँदै गरेको लु १ ज ३६१४ नम्बरको फोर्स जिप दिउँसो पौने २ बजे माडी–२ ब्याङखोलामा करिब ३० मिटर तल खसेको थियो। दुर्घटनापछि सामान्य घाइते यात्रुले तत्काल प्रहरीलाई जानकारी गराएका थिए।

सूचना पाएलगत्तै प्रहरी निरीक्षक देवसिंह भण्डारीको कमान्डमा १० जनाको टोली घटनास्थल पुगेर घाइतेको उद्धार गरी अस्पताल पठाइएको हो।

गाडी चालक रोल्पा नगरपालिका–७ दाङवाङका २७ वर्षीय होम नारायण बिकलाई सामान्य उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो