स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजनीतिक भागबण्डाअनुसार उपकुलपति नियुक्ति
काठमाडौं — चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि नयाँ उपकुलपतिहरू नियुक्त भएका छन्। कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नियुक्ति पत्र वितरण गरेका हुन्।
सत्तारूढ नेकपा एमालेले पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान आफ्नो भागमा पारेको छ भने नेपाली कांग्रेसको भागमा वीपी कोइराला (धरान) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परेको छ।
पाटनमा बाथरोग विशेषज्ञ प्रा. डा. बुद्धि पौडेल, पोखरामा हालका अस्पताल निर्देशक तथा निमित्त उपकुलपति प्रा. डा. भरत बहादुर खत्री, वीपी प्रतिष्ठानमा प्रा. डा. विक्रम प्रसाद श्रेष्ठ, र कर्णालीमा हाडजोर्नी रोग विशेषज्ञ डा. पुजन कुमार रोकाया नियुक्त भएका छन्।
गएको जेठ १४ गते स्वास्थ्य मन्त्री प्रदीप पौडेलको नेतृत्वमा बनेको सिफारिस समितिले असार ४ गते आवेदन आह्वान गर्दा ५५ जनाले दाबी पेश गरेका थिए। समितिमा मन्त्रालयका सचिव डा. विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा सदस्य थिए।
