मन्त्री भण्डारीका स्वकीय सचिव लोकबहादुर भण्डारी पदमुक्त
काठमाडौं — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका स्वकीय सचिव लोकबहादुर भण्डारी पदमुक्त भएका छन्। मन्त्रालयले सोमबारदेखि लागू हुने गरी उनलाई हटाएको जनाएको छ।
मन्त्रीको निजी सचिवालयमा कार्यरत भण्डारीको गतिविधिप्रति सार्वजनिक रूपमा प्रश्न उठेपछि सो निर्णय गरिएको हो। जनआस्था डट कमले जनै पूर्णिमाको दिन राजधानीको एक नाइट क्लबमा भण्डारी युवतीलाई बोक्दै नाचेको भिडियोसहित समाचार प्रकाशित गरेपछि दिउँसो नै पदमुक्त गरिएको स्रोतले जनाएको छ।
मन्त्रालयद्वारा जारी पत्रमा भनिएको छ, “माननीय मन्त्रीज्यूको सचिवालयमा रही कामकाज गर्दा गरिएको क्रियाकलापप्रति सार्वजनिक रूपमा प्रश्न उठेकाले तपाईंलाई स्वकीय अधिकृत पदबाट आजकै मितिदेखि लागू हुने गरी पदमुक्त गरिएको जानकारी गराइन्छ।”
पत्रमा उपसचिव सुमन धितालको हस्ताक्षर छ र बोधार्थका लागि प्रधानमन्त्रीको निजी सचिवालय तथा मन्त्रिपरिषद् कार्यालयलाई समेत पठाइएको छ।
