भैरहवा कारागारमा रवि लामिछानेको मानवअधिकार हनन भएको आयोगको निष्कर्ष
काठमाडौं — रुपन्देहीको भैरहवा कारागारमा बन्दी जीवन बिताइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मानवअधिकार हनन भएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ।
सोमबार कारागारको अनुगमनपछि आयोगले लामिछानेलाई न्यूनतम मानवीय सुविधा नदिइएको पुष्टि गरेको हो। आयोगकी प्रवक्ता लिली थापाका अनुसार रवि लामिछानेको थुनुवा कक्षको झ्याल थुनिएको छ र हावापास गर्ने उचित व्यवस्था छैन।
यसअघि, लामिछानेका समर्थकहरूले उनलाई दयनीय अवस्थामा राखिएको दाबी गरेका थिए भने विरोधीहरूले कारागारमा भीआइपी सुविधा, एसीसहितको कोठामा राखिएको आरोप लगाएका थिए। यी परस्परविरोधी दाबीहरू सार्वजनिक भएपछि आयोगले स्वतःस्फूर्त रूपमा अनुगमन गरेको हो।
अनुगमनपछि आयोगले लामिछानेको कक्षमा एसी नभएको तर दुईवटा पंखा रहेको पुष्टि गरेको छ। कारागार प्रशासनले सुरक्षाका कारण झ्याल थुनेको जनाएको र आयोगको आग्रहपछि झ्याल खोल्ने तयारी जनाएको छ।
त्यस्तै, अदालतले अनुमति दिइसक्दा पनि लामिछानेलाई जेल स्थानान्तरण नगरेको विषयमा आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ। प्रवक्ता थापाले, “सय दिनसम्म बन्दी कक्षबाट बाहिर हिँडडुल गर्न नदिएर उनको मानवअधिकार हनन भएको छ,” भन्ने निष्कर्ष सुनाइन्। आयोगले यस विषयमा कारागार व्यवस्थापन विभागसँग आवश्यक समन्वय गर्ने बताएको छ।
