दंगीशरणमा नयाँ लेखा अधिकृत र इञ्जिनियरलाई स्वागत
दंगीशरण, साउन २५
दाङको दंगीशरण गाउँपालिकाले सरुवा भएर आएका लेखा अधिकृत ध्रुबराज न्यौपाने र इञ्जिनियर अर्जुन श्रेष्ठलाई विशेष कार्यक्रममार्फत स्वागत गरेको छ।
रोल्पाको परिवर्तन गाउँपालिकाबाट लेखा अधिकृत न्यौपाने र सुनिल स्मृती गाउँपालिकाबाट इञ्जिनियर श्रेष्ठ सरुवा भई दंगीशरणमा हाजिर भएका हुन्। गाउँपालिकाको स्वागत कार्यक्रममा अध्यक्ष शम्भु गिरी, उपाध्यक्ष पिमा वलि खड्का, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, शाखा प्रमुखहरू तथा कर्मचारीहरू उपस्थित थिए।
कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष गिरीले गर्नुभएको थियो। उहाँले निर्वाचित भएदेखि नै “समुन्नत दंगीशरण” भन्ने नारासहित अघि बढेको बताउँदै, यस लक्ष्यलाई पूरा गर्न सबै जनप्रतिनिधि र कर्मचारीको सक्रिय सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै, गाउँपालिकालाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउन आफू कटिबद्ध रहेको र यस अभियानमा सबैको साथ रहने विश्वास व्यक्त गर्नुभयो।
उपाध्यक्ष पिमा वलि खड्काले गाउँपालिका सबैको साझा थलो भएकाले सेवाभावका साथ काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो। स्वागत पाएका दुवै अधिकारीहरूले आफ्नो जिम्मेवारी र कर्तव्य इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालिको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण प्रशासकीय अधिकृत सुदिप डाँगीले गर्नुभएको थियो।



