कैलाली कारागारमा भीषण झडप, १ कैदीको मृत्यु ४७ घाइते
कैलाली — कैलाली कारागारमा शुक्रबार राति कैदीबन्दीबीच भएको भीषण झडपपछि स्थिति तनावपूर्ण बनेको छ। घटनामा धनगढी उपमहानगरपालिका–४ का कैदी भरत चौधरीको मृत्यु भएको छ भने कम्तीमा ४७ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।
घाइतेहरूलाई सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। अस्पतालमा दुई जनालाई आइसीयूमा राखिएको र परिसरमा समेत सुरक्षा कडाइ गरिएको प्रहरीले जनाएको छ।
शनिबार बिहान प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बालनरसिंह राणा, सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्रराज रञ्जितसहितको टोली कारागार पुगेको थियो। तर, कैदीबन्दीले थुनुवा कक्षको मुख्य गेटमै ग्यास सिलिन्डर राखेर आगो लगाउने चेतावनी दिएका कारण टोली भित्र प्रवेश गर्न सकेन।
थुनुवा कक्ष बाहिर ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। बिहानैदेखि कैदीबन्दीहरूले सुरक्षा निकायलाई प्रवेश निषेध गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोगको टोली पनि घटनास्थल पुगेको भए पनि भित्र पस्न अनुमति दिइएको छैन।
घटनाको छानबिनका लागि जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, सन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव छन्। समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
घटनाबारे आधिकारिक विवरण भने अझै सार्वजनिक गरिएको छैन।
