April 18, 2026

रवि लामिछाने चार महिनादेखि अँध्यारो कोठामा: “पञ्चायतकालमा पनि यस्तो अवस्था थिएन” – डा. बाबुराम भट्टराई

0

भैरहवा, साउन ९ – सुप्रिम सहकारी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चार महिनादेखि भैरहवास्थित रूपन्देही पुरुष कारागारको ब्लक नम्बर ४ भित्रको साँघुरो, अँध्यारो कोठामा थुनिएका छन्।

१२ फिट चौडा र ३५ फिट लामो उक्त कोठामा प्लाइले टालिएको झ्याल र फलामे बारसहितको ढोका रहेको छ। झ्यालमा उज्यालो छिर्न सक्दैन, न हावाको सहज आवागमन हुन्छ। कोठा यति साँघुरो छ कि बाहिरको ४२ डिग्री सेल्सियसको तापक्रमभन्दा पनि भित्र अझ बढी पीडादायी महसुस हुने बताइन्छ।

बिहीबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लामिछानेको अवस्था अवलोकन गर्न कारागार पुगेका थिए। भेटपछि उनले सञ्चारकर्मीहरूलाई भने, “पञ्चायतकालमा पनि यस्तो अमानवीय अवस्था देखिएको थिएन।”

भट्टराई मात्र होइन, पछिल्ला दिनमा जनमत पार्टी अध्यक्ष डा. सिके राउत, जनता प्रगतिशील पार्टी अध्यक्ष हृदयेश त्रिपाठी, माओवादी केन्द्रका सांसद माधव सापकोटा र एमाले सांसद वासुदेव घिमिरेलगायत नेताहरूले पनि लामिछानेको अवस्था प्रति चिन्ता व्यक्त गरिसकेका छन्। उनीहरूको आरोप छ – “देशको चौथो ठूलो दलका सभापतिमाथि राज्यले न्यूनतम मानवीय व्यवहार पनि गरेको छैन।”

लामिछाने रहेको कोठामा बाहिरी संसार हेर्नका लागि एउटा मात्र सानो झ्याल छ, त्यो पनि प्लाइले बन्द गरिएको छ। विगत चार महिनामा उनी जम्मा तीनपटक मात्र कपाल काट्न बाहिर निस्कन पाएका छन्। उनलाई अखबार पढ्ने सुविधा पनि उपलब्ध छैन। कारागार प्रमुख सुरेश भण्डारीका अनुसार बजेटको अभावका कारण यस्तो अवस्था सिर्जना भएको हो।

यसबीच, सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले तोकेको रु. २ करोड ७४ लाख ८४ हजार बिगो लामिछानेले शुभचिन्तकहरूको सहयोगमा बैंक जमानतमार्फत बुझाइसकेका छन्। उनले कारागार स्थानान्तरणको निवेदन १४ जेठमा दिएका थिए। १६ जेठमा अदालतले स्थानान्तरण अनुमति दिए पनि गृहमन्त्री रमेश लेखकको दबाबमा कारागार विभागले आदेश कार्यान्वयन नगरेको आरोप पनि लागेको छ।

रवि लामिछाने अझै पनि त्यही अँध्यारो, घामले नछोएको कोठामा छन्। जहाँ दिनभन्दा लामो रात हुन्छ, र समय घडीको सुइले होइन, पीडाको नापमा गन्ती हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो