April 18, 2026

शिक्षा समितिको बैठकमा वाकयुद्ध : सुमना श्रेष्ठ र श्यामकुमार घिमिरे आमनेसामने

0

काठमाडौं, साउन २३– प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठक एकाएक तनावग्रस्त बन्यो। निजी विद्यालयको छात्रवृत्ति सम्बन्धी विषयमा छलफल चलिरहेको बेला सांसद सुमना श्रेष्ठ र प्रमुख सचेतक श्यामकुमार घिमिरेबीच तीव्र वाकयुद्ध भएको हो।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रेष्ठले संविधानअनुसार कमजोर तथा विपन्न वर्गका विद्यार्थीका लागि आवासीय छात्रवृत्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै भनिन्, “राज्य जो कमजोर वर्ग छ, त्यही वर्गका लागि हो। गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिसँगै आवास पनि उपलब्ध गराउनु पर्छ। होइन भने संविधान च्यातिदिऊँ।”

श्रेष्ठको अभिव्यक्तिको जवाफमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले उक्त प्रस्तावलाई अव्यावहारिक भन्दै कटाक्ष गरे। उनले भने, “विदेशी मुलुकमा विद्यालयले राज्यको भार लिएबापत अनुदान दिन्छन्, तर नेपालमा त्यो अभ्यास छैन। क्यामेरा देखेपछि जे पनि बोल्ने? खाली स्टन्ट मात्र गर्ने?”

घिमिरेको भनाइले बैठकमा झनै ताप बढेको थियो। सांसद श्रेष्ठले तुरुन्त प्रतिक्रिया दिँदै भनिन्, “दोहोरी खेल्ने? मैले नाम लिएको छु?”

विवाद चर्किंदै जाँदा नेपाली कांग्रेसका अर्का सांसद चन्द्र भण्डारीले सुमना श्रेष्ठको प्रस्तावको समर्थन गर्दै कम्तीमा १ प्रतिशत आवासीय छात्रवृत्तिको व्यवस्था गर्न सुझाव दिए। उनले भने, “गरिबको घरमा आइन्स्टाइन जन्मिन सक्छ। समाजमा यस्ता जेहेन्दार विद्यार्थी छन्, तिनीहरूलाई सुविधा दिनुपर्छ। हामीले १ प्रतिशत आवासीय छात्रवृत्ति राखौं।”

वातावरण तनावपूर्ण बन्दै गएपछि समितिका सभापति अम्मरबहादुर थापाले दुवै पक्षलाई चुप लाग्न निर्देशन दिए। उनले भने, “तपाईंहरू चुप लाग्नुहोस्। मैले रुलिङ गर्ने कि तपाईंहरूले?” शिक्षामन्त्री रघुजी पन्तले समेत घिमिरेलाई पटक–पटक संयमित हुन आग्रह गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो