April 18, 2026

मानसिक पीडाबाट आशाको उज्यालोतर्फ: उर्मिलाको गाउँ फर्कने कथा

0

सिन्धुली, साउन २३।
सिन्धुलीको गोलञ्जोर–६ की उर्मिला हायुलाई यो साउन ९ गतेको बिहान कहिल्यै नबिर्सिने भएको छ। श्रीमान् सानु हायुको मृत्युपछिको शोक, गाउँलेको तिरस्कार र मनको भयले थिचिएकी उर्मिला घरको ढोकाबाट निस्किइन् – थकित अनुहार, आँखा रित्तिएका, हृदयभरिको डर बोकी।

गाउँका केहीले कानमा फुसफुस्याउँथे – “श्रीमान्को आत्माले तलाई पनि लैजाला…”
त्यस दिन उर्मिलाले आफ्नो थातथलो, गामघर र जीवनको सम्पूर्ण आधार छाडिन्। पोखरातिर लागिन् – भविष्य अन्धकारमय, बसोबासको ठेगाना केही थिएन। साथमा उनका छोराछोरी र परिवारका सदस्यहरू थिए, तर मनभित्र अनिश्चितता मात्र।

११ दिन बिते। उर्मिला नहराएको भए पनि गाउँले उनलाई सम्झिरहन्थे। वडाध्यक्ष रविनकुमार श्रेष्ठ भने उर्मिलालाई फर्काउने दृढ निश्चयमा थिए।
उनी आफैँ पोखरा गए। उर्मिलासँग लामो संवाद गरे, उनको मनको डर बुझ्ने प्रयास गरे।

श्रेष्ठले ममता र आत्मीयताका साथ भने,
“यहाँ तपाईंको घर छ, मान्छे छन्, भविष्य छ। म तपाईंको साथमा छु।”

उर्मिला थकिएकी थिइन्, तर श्रेष्ठको साथ र माया पाएपछि बिस्तारै उनी राजी भइन्।
उनी गाउँ फर्किइन् – फर्किने बित्तिकै वडाध्यक्षको पुरानो घरमा बसोबासको व्यवस्था मिलाइयो।
दुई छोरा र दुई छोरीलाई गाउँकै मिनरल वाटर कम्पनीमा मासिक १० हजार तलबसहित रोजगारी, अर्को एक छोरालाई होटलमा १५ हजारको काम, जेठा छोरालाई एम्बुलेन्स चालकको काम दिलाउने प्रक्रिया अघि बढाइयो।
गणेश प्राथमिक विद्यालयमा सबै नानीहरूलाई भर्ना गरियो।
उर्मिलालाई तरकारी खेती र कुखुरा पालनको जिम्मेवारी दिइयो – ताकि उनी आत्मनिर्भर बनून्।

केही दिनमै उर्मिलाको मुहारमा फेरि हाँसो फिर्ता आयो।
उनको नातिनी, जो बिरामी थिइन्, बिस्तारै निको हुँदैछिन्।
उनी भन्छिन्,
“अब डर लाग्दैन। गाउँको बीचमा छौं, छोराछोरी सबैको काम लागेको छ। अब त ढुक्क छ।”

वडाध्यक्ष श्रेष्ठ भन्छन् –
“दसैंपछि उनीहरूका लागि नयाँ घर बनाउँछु। काउन्सेलिङको माध्यमबाट डर हटाएर आत्मबल बनाइदिन्छु।”

अन्ततः उर्मिला दृढ स्वरमा घोषणा गर्छिन्,
“हामी कतै हिँड्ने मान्छे हैनौँ। अब कहिल्यै गाउँ छोड्दैनौँ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो