April 19, 2026

भारतको उत्तराखण्डमा भीषण बाढीमा परि सात नेपालीको मृत्यु

0

जाजरकोट, साउन २३ ।
भारतको उत्तराखण्डमा आएको क्लाउड ब्रस्ट (अत्यधिक वर्षा) का कारण सिर्जित बाढी र पहिरोमा परी जाजरकोटका सात जना नेपालीको ज्यान गएको पुष्टि भएको छ। मृतकहरू सिजन अनुसार रोजगारीका लागि भारत गएका मजदुर रहेको बताइएको छ।

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार, मृतकहरूमा जाजरकोट-२, डोब्री पिपलधाराका कर्णबहादुर सिंह (४२), मानबहादुर सिंह (४५), रामबहादुर सिंह (४०), रबिन सिंह (१७) र निमबहादुर सिंह (३५) रहेका छन्। साथै, जुम्लाको तातोपानी गाउँपालिका, कुडारीका जनकबहादुर शाही र रुकुम पश्चिमका एक पुरुष, जो मृतक मानबहादुर सिंहका ज्वाइँ रहेको जनाइएको छ, समेत घटनामा परी ज्यान गुमाएका छन्।

झण्डै एक दर्जन नेपाली रोजगारीका लागि असार-श्रावण महिनाको धान रोपाइँ सकिएपछि उत्तराखण्ड गएका थिए। घटनाको समयमा ती सबै एकै ठाउँमा काम गरिरहेका थिए।

मानबहादुरका छोरा नवीन सिंह भने भाग्न सफल भएका छन्। उनले आफन्तलाई सामाजिक सञ्जालमार्फत घटनाको जानकारी गराएका थिए।

अध्यक्ष बस्नेतले भने, “बाढीले बजार बगाएको देखिएको छ, जसबाट धेरै मानिसहरू जोखिममा परेका छन्। केही नेपालीहरू अझै बेपत्ता छन्। अहिले उद्धार र खोजीका लागि कूटनीतिक पहल आवश्यक छ।”

वर्तमानमा भारत सरकारले प्रभावित क्षेत्रमा इन्टरनेट तथा मोबाइल सेवा बन्द गरेकाले सम्पर्कमा समस्या आएको छ। घटनास्थलमा उद्धार कार्य भइरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो