कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँच जना घाइते
कैलाली, साउन २३।
कैलाली कारागारमा कैदीबन्दीहरूबीच भएको झडपमा पाँच जना घाइते भएका छन्। घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
झडपको कारणबारे अहिले अनुसन्धान जारी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। उनले झडप किन र कसरी भयो भन्ने विषयमा हाल प्रहरीले छानबिन गरिरहेको बताए।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार, भूपेन्द्र बडुवाल हत्या प्रकरणमा संलग्न तीन जना कैदीलाई अन्यत्र स्थानान्तरण गर्ने क्रममा उत्पन्न विवादले झडपको रूप लिएको हो। झडप कारागारको ए र बी ब्लकमा भएको बताइएको छ।
घटनापछि कैलाली प्रहरी प्रमुख एसपी बालनरसिंह राणा र डीएसपी राजकुमार सिंह कारागार पुगेका छन् र थप अनुसन्धानमा संलग्न छन्।
यसअघि पनि केही दिनदेखि कैलाली कारागारमा कैदीबन्दीहरूबीच बारम्बार झडप हुँदै आएको सूचना बाहिरिएको थियो। यसै कारण सुरक्षा निकाय सतर्क अवस्थामा रहेको जनाइएको छ।
