अमेरिकामा पर्यटक र व्यापार भिसामा १५,००० डलर बन्ड अनिवार्य हुने
काठमाडौं , साउन २३
अमेरिकाले आप्रवासी नियन्त्रणका लागि थप कडा नीति अघि सारेको छ। ट्रम्प प्रशासन सुरुदेखि नै आप्रवासीहरूप्रति कडा दृष्टिकोण राख्दै आएकोमा, अहिले अमेरिकी विदेश विभागले पर्यटक (B1) र व्यापारिक भिसा (B2) लिने व्यक्तिहरूका लागि नयाँ पाइलट भिसा बन्ड कार्यक्रम ल्याएको छ।
नयाँ नियमअनुसार, अमेरिका भित्रन चाहने व्यक्तिहरूले अब ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलरसम्मको बन्ड बुझाउनुपर्नेछ। नेपाली रूपैयाँमा यो रकम अधिकतम २१ लाख रुपैयाँ पुग्न सक्छ। यो बन्ड रकम अस्थायी रूपमा लिइनेछ र भिसाको म्यादभित्र फर्किएपछि मात्र फिर्ता गरिनेछ।
अमेरिकी विदेश विभागका अनुसार, यो कार्यक्रमको उद्देश्य भिसाको म्याद सकिएपछि पनि अमेरिकामा बसिरहने विदेशीको संख्या घटाउनु हो। विगत केही वर्षमा लाखौं व्यक्तिहरू भिसा अवधि सकिएपछि पनि अवैध रूपमा अमेरिकामा बसेको तथ्यांक सार्वजनिक भएको थियो।
अगस्ट २० देखि लागू हुने अपेक्षा गरिएको यो कार्यक्रम सुरुमा एक वर्षका लागि परीक्षण स्वरूप सञ्चालन हुनेछ। यस अन्तर्गत, कन्सुलर अधिकारीहरूलाई आवेदकको जोखिम मूल्याङ्कन गर्दै फरक–फरक बन्ड तोक्ने अधिकार दिइएको छ।
हालसम्म कुन देशहरू कार्यक्रममा समावेश हुनेछन् भन्ने विषयमा भने स्पष्ट खुलाइएको छैन। तर, अमेरिकी अध्यागमन ऐन उल्लङ्घनका घटनामा नेपाली नागरिकहरू पनि संलग्न रहेको इतिहासलाई ध्यानमा राख्दा नेपालसमेत यस कार्यक्रमको दायरामा पर्न सक्ने अनुमान गरिएको छ।
विदेश विभागका अनुसार, कार्यक्रम लागू हुनुभन्दा कम्तीमा १५ दिनअघि समावेश देशहरूको सूची सार्वजनिक गरिनेछ। साथै आवश्यक परेमा सूचीमा संशोधन पनि गरिने उल्लेख गरिएको छ।
बन्ड कार्यक्रम लागू भएपछि अमेरिका जान चाहने पर्यटक र व्यवसायिक भिसाधारीहरूले आफ्नो योजनामा ठूलो आर्थिक तयारी गर्नुपर्ने देखिएको छ।
