April 19, 2026

स्याङ्जामा लोकगायक पशुपति शर्मा सवार कार दुर्घटना

0

स्याङ्जा, २०८२ साउन २१।
लोकगायक पशुपति शर्मा सवार कार बुधबार दिउँसो स्याङ्जाको सिद्धार्थ राजमार्गमा दुर्घटनामा परेको छ। पोखराबाट वालिङतर्फ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार भीरकोट नगरपालिका–२ स्थित एक कल्भर्टमा ठोक्किएर दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी बाबुराम न्यौपानेका अनुसार, “कार अनियन्त्रित भई कल्भर्टमा ठोक्किएको हो। सामान्य दुर्घटना हो। कारमा सवार चारै जनालाई ठूलो चोट लागेको छैन।”

दुर्घटनामा गायक शर्माको देब्रे हातको कान्छी औंला भाँचिएको छ भने अन्य तीन जना यात्रु सामान्य घाइते भएका छन्। कारमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई नजिकको अस्पतालमा उपचारका लागि लगिएको छ। गायक शर्माको अवस्था नियन्त्रणमा रहेको र खतरा टरेको प्रहरीले जनाएको छ।

गायक शर्मा स्याङ्जाको वालिङमा आयोजना भएको एक सांगीतिक कार्यक्रममा सहभागी हुन जाँदै गर्दा दुर्घटना भएको हो।
प्रहरीका अनुसार, दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। सिद्धार्थ राजमार्गमा सङ्कुचित सडक, खतरनाक मोड र कमजोर संरचनाका कारण बारम्बार दुर्घटना हुने गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो