निजामती सेवा विधेयक त्रुटि छानबिन समिति द्वारा प्रतिवेदन सभामुख समक्ष बुझाइयो
काठमाडौं, २०८२ साउन २०।
सङ्घीय निजामती सेवा विधेयकमा देखिएको गम्भीर त्रुटिको छानबिन गर्न गठन गरिएको ‘विशेष छानबिन समिति’ले आज सभामुख देवराज घिमिरे समक्ष आफ्नो अन्तिम प्रतिवेदन बुझाएको छ।
सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा समितिका संयोजक जीवन परियारले सभामुखलाई औपचारिक रूपमा प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो।
उक्त प्रतिवेदन सोमबार रातभर सिंहदरबारमा बसेर अन्तिम रूप दिइएको हो। समितिले प्रतिवेदनलाई आजको प्रतिनिधिसभा बैठकमा पेश गर्ने निर्णय पनि गरेको छ। करिब २९ दिनसम्म चलेको अनुसन्धानमा समितिले ३७ वटा बैठक बसेर प्रतिवेदन तयार पारेको हो।
प्रतिनिधिसभाले गत २०७९ असार २३ गते त्रुटिपूर्ण विधेयकबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो। समितिमा विभिन्न राजनीतिक दलका सांसदहरूको प्रतिनिधित्व रहेको छ:
नेपाली कांग्रेसबाट: जीवन परियार (संयोजक), सुशीला थिङ
नेकपा (एमाले)बाट: नारायणप्रसाद आचार्य, ईश्वरी घर्ती नेकपा (माओवादी केन्द्र)बाट: माधव सापकोटा
राष्ट्रिय स्वतन्त्र पार्टीबाट: गणेश पराजुली
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट: रोशन कार्की
समितिले प्रतिवेदनमार्फत विधेयक निर्माण प्रक्रियामा देखिएको त्रुटिमा जिम्मेवार पक्षहरूको नाम किटान गर्दै नैतिक जिम्मेवारी लिने विषयमा सिफारिस गरेको बताइएको छ।
प्रतिवेदनबारे विस्तृत जानकारी भने प्रतिनिधिसभा बैठकमा औपचारिक रुपमा सार्वजनिक भएपछि आउनेछ।
