पूर्वराष्ट्रपतिको पार्टी प्रवेश रोक्न रास्वपाको तयारी, ‘कुलिङ अफ पिरियड’ पनि सशक्त बनाउने प्रस्ताव
काठमाडौं, २०८२ साउन २१।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रको सर्वोच्च पदमा रहिसकेका व्यक्तिहरूलाई पार्टी सदस्यता नदिने नीति अवलम्बन गर्ने तयारी गरेको छ। यसका लागि पार्टीले विधान संशोधन प्रस्ताव तयार पारेको छ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार, मंगलबार बसेको सचिवालय बैठकमा सो प्रस्ताव पेस गरिएको हो। संशोधन अनुसार पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीशलगायत उच्च ओहदामा रहेकाहरूलाई पार्टीमा प्रवेश निषेध गरिनेछ।प्रवक्ता झाका अनुसार, “यस किसिमको नीति राजनीतिक नैतिकता र निष्पक्षता कायम राख्न सहयोग पुर्याउनेछ।”यसअघि रास्वपाले सरकारी सेवाबाट अवकाश पाएपछि कम्तीमा दुई वर्षसम्म पार्टी सदस्यता नदिने ‘कुलिङ अफ पिरियड’ को व्यवस्था प्रस्ताव गरेको थियो। सरकारी जागिरबाट सीधा राजनीतिमा प्रवेशको प्रवृत्तिलाई रोक्न सो प्रस्ताव गरिएको थियो।
औपचारिक निर्णय भने अझै बाँकी झाका अनुसार, यी प्रस्तावहरूमा औपचारिक निर्णय भइसकेको छैन। बैठकमा समय अभावका कारण विस्तृत छलफल हुन नसकेको र आगामी बैठकमा निर्णय लिइने तयारी छ।
खतिवडाको राजीनामा माग
बैठकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिनुपर्ने निष्कर्ष पनि निकालिएको छ। संघीय निजामति सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ हटाएर ऐनको मर्मविपरीत संशोधन गरिएको भन्दै, संसदीय छानबिन समितिले खतिवडालाई नैतिक रूपमा जिम्मेवार ठहर गरेको थियो।
छानबिन समितिको प्रतिवेदन सोमबार प्रतिनिधिसभामा पेश गरिएको थियो।
कुसुम महर्जनको नाम सूचीबाट हटाइयो बैठकले पार्टीको समानुपातिक सूचीबाट नाम हटाउन निवेदन दिएकी कुसुम महर्जनको निवेदन स्वीकृत गरेको छ। रुपन्देही–३ बाट प्रत्यक्ष उम्मेदवारी दिन चाहने महर्जनको कानुनी अड्चन अब हटेको छ। अब उनी उम्मेदवारी दिन योग्य बनेकी छन्।
