April 19, 2026

साउन १५ मा खीर खाएर नेपाली परम्परा मनाइँदै

0

काठमाडौँ, साउन १५
आज साउन १५ गतेका दिन नेपाली समाजमा खीर खाएर परम्परा अनुसारको पर्व मनाइँदैछ। वर्षा ऋतुका विशेष दुई चाडहरूमध्ये असार १५ मा दही–च्युरा र साउन १५ मा खीर खाने परम्परा प्राचीनकालदेखि चलिआएको मानिन्छ।

धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार, खीरलाई संस्कृतमा ‘पायस’ भनिन्छ र यसलाई सात्विक आहारमध्ये उत्तम मानिन्छ। पितृकार्य र देवपूजामा खीरको विशेष महत्व हुने वैदिक शास्त्रहरूमा उल्लेख छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार, साउन महिनामा गाउँघरमा खेतीपातीका काम हरू केही हलुका हुने, हरियाली बढ्ने, घाँस प्रशस्त हुने र त्यसले गाई–भैंसीले बढी दूध दिने हुँदा दूधजन्य परिकार तयार गरी इष्टमित्र र आफन्तलाई खीर खुवाउने परम्परा बसालिएको हो।
“साउन भगवान् शिवको महिना हो। शिवलाई दूध र दूधजन्य वस्तु प्रिय हुने भएकाले खीर चढाउने र खाने परम्परासमेत विकास भएको हुनसक्छ,” गौतमले बताए।

हालैसम्म कुनै स्पष्ट शास्त्रीय वचन (scriptural injunction) नभए पनि वैदिक कालदेखि पायस (खीर) पितृकार्य र देवकार्यमा प्रयोग हुँदै आएको उल्लेख गरिन्छ।

स्वास्थ्यका दृष्टिकोणले पनि खीर लाभदायक मानिन्छ। दूधमा मरमसला, चामल, साखर, ड्राईफ्रुट आदि मिलाएर तयार गरिने खीर स्वाद र पौष्टिकतामा समृद्ध मानिन्छ।

परम्परागत रूपमा चामल, सेवई, मकै, गाजर वा सावधाना (सावुदाना) बाट खीर बनाउने चलन छ। साउन महिनामा प्रशस्त पाइने हरियो मकै पनि खीरको रुपमा उपभोग हुने गरेको छ।

नेपाली बृहत् शब्दकोशमा खीरलाई “दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्यपदार्थ, पायस, तस्मै” भनी परिभाषित गरिएको छ।

खीर मात्र मिठो परिकार नभई नेपाली संस्कृति, कृषि चक्र, धार्मिक मान्यता र सामाजिक मेलमिलापसँग जोडिएको परम्परा पनि हो। यस्ता परम्पराले समाजमा संस्कृतिक चेतना, आपसी स्नेह र स्वास्थ्यप्रतिको जागरुकता बढाउन भूमिका खेलेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो