सलौराको पुरानो चौतारी मर्मत, सरैयामा नयाँ निर्माण हुने
दंगीशरण, साउन १०
दंगीशरण गाउँपालिका–५ सलौरामा रहेको पुरानो चौतारी आज मर्मत गरिएको छ। स्थानीय सरकारले मात्र नभई समुदाय स्वयं पनि विकासमा अग्रसर हुनुपर्ने दृष्टिकोणले यो कार्य सम्पन्न गरिएको हो।
आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता यही साउन ८ गते वडा नं. ५ को कार्यलय नन्द्रागाउँले वितरण गरेको थियो। सो भत्ताबाट जेष्ठ नागरिकहरूले केही अंश छुट्याई चौतारी मर्मतका लागि आर्थिक सहयोग गरेका हुन् ।
त्यसैगरी, समाजसेवी युवाहरूले पनि आर्थिक तथा भौतिक उपस्थितिबाट श्रमदान गर्दै चौतारी मर्मतमा हातेमालो गरेका छन्। चौतारी मर्मतको नेतृत्व समीर चौधरी (सान्ता राम) ले गरेका छन् ।
यसैबीच, दंगीशरण गाउँपालिका–४ सरैयामा यही साउन १७ गते शनिबार शिवालय मन्दिर परिसरमा नयाँ चौतारी निर्माण गरिने भएको छ।
स्थानीय विकासप्रेमी युवा प्रभात केसीको अगुवाइमा तथा आर्थिक सहयोगमा निर्माण प्रक्रिया अघि बढाइएको छ। उनले सम्पूर्ण सरैयावासीलाई सामाजिक कार्यमा सहकार्य गर्न आग्रह गरेका छन्।
यसरी समुदायकै पहलमा भइरहेका यस्ता कामले स्थानीय स्तरमै विकास र सामाजिक एकताको उदाहरण प्रस्तुत गरेका छन्।
