April 19, 2026

सल्यानमा यात्रुबाहक गाडी दुर्घटना, १५ जना घाइते

0

दाङ , साउन ८
नेपालगञ्जबाट सल्यानको रागेचौरतर्फ जाँदै गरेको यात्रुबाहक फोर्स गाडी बिहीबार दिउँसो दुर्घटनामा पर्दा चालकसहित १५ जना घाइते भएका छन्।

कुमाख गाउँपालिका–२ स्थित बढाई ज्युला भन्ने स्थानमा गाडी सडकबाट करिब २५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रहरीका अनुसार गाडी अनियन्त्रित भई दुर्घटना भएको हो। घाइतेमध्ये १४ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ।

गम्भीर घाइते हुनेमा कुमाख गाउँपालिका–६ का २८ वर्षीय चालक पारश आचार्यसहित टिकाराम आचार्य, भुपेन्द्र बस्नेत, दिपा बुढाथोकी, कोपिला बुढाथोकी, इन्द्र रावत, डोले बस्नेत, निर्मला बुढाथोकी, जेनिशा राना, महेन्द्र बस्नेत, कालीमान हमाल, तुलसा सुनार, चन्दी बिष्ट र कुन्ता बिष्ट रहेका छन्।

सामान्य घाइते भएका रुकुम पश्चिम चौरजाहारी–४ का २३ वर्षीय भुवन लामिछानेलाई उपचारका लागि मिशन अस्पताल, चौरजाहारी पठाइएको छ।

घटना लगत्तै पुगेको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी अस्पताल पुर्‍याइएको डिएसपी हेमबहादुर केसीले जानकारी दिनुभयो।

यस दुर्घटनाले पुनः ग्रामीण सडक सञ्जालको अवस्था, सवारीसाधनको मर्मतसम्भार, चालकको दक्षता तथा ट्राफिक सुरक्षाको प्रभावकारिता सम्बन्धमा प्रश्न उठाएको छ। यात्रु ढुवानीका लागि प्रयोग गरिने फोर्सजस्ता सवारीसाधनको नियमित निरीक्षण नहुँदासम्म यस्ता दुर्घटना दोहोरिन सक्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो