April 19, 2026

प्रकृति लम्साल आत्महत्या प्रकरणमा केआईआईटी विश्वविद्यालय दोषी ठहर

0

भारत , साउन ६
भारतको विश्वविद्यालय अनुदान आयोग (यूजीसी) द्वारा गठित जाँचबुझ समितिले उडिशा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयलाई दुई विद्यार्थीको आत्महत्यामा दोषी ठहर गरेको छ। उक्त घटनामध्ये एक पीडित नेपालकी प्रकृति लम्साल रहेको टाइम्स अफ इन्डियाले जनाएको छ।

फेब्रुअरी १६ मा बीटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी लम्साल आफ्नो छात्रावासको कोठामा मृत फेला परेकी थिइन्। यस्तै, सोही वर्षमा अर्को विद्यार्थीले पनि आत्महत्या गरेका थिए।

यूजीसी समितिको प्रतिवेदनमा विश्वविद्यालयमा भएका गैरकानुनी र अवैध गतिविधिले आत्महत्या निम्त्याएको उल्लेख छ। प्रतिवेदनमा भनिएको छ, “विश्वविद्यालय प्रशासनको लापरबाही र अनुचित कदमले फौजदारी अपराध सरहको परिस्थिति सिर्जना गर्‍यो।”

उजुरी बेवास्ता, जबरजस्ती सम्झौता

प्रकृति लम्सालले आत्महत्या गर्नु अगाडि दुई पटक विश्वविद्यालय प्रशासनमा उजुरी दिएकी थिइन्। तर, दुबै उजुरी बेवास्ता गर्दै केटाको पक्षमा निर्णय गरिएको समितिको प्रतिवेदनमा जनाइएको छ। साथै, लम्साललाई जबरजस्ती गैरकानुनी सम्झौतामा हस्ताक्षर गर्न बाध्य पारिएको खुलासा गरिएको छ।

समितिले यदि प्रशासनले समयमै उचित कदम चालेको भए आत्महत्या रोक्न सकिने स्पष्ट सम्भावना रहेको बताएको छ।

कडा सिफारिस : विश्वविद्यालयको विस्तारमा रोक, दोषीलाई कारबाही

प्राध्यापक नागेश्वर रावको अध्यक्षतामा गठित समितिले मे २०, २०२५ मा प्रतिवेदन पेस गर्दै केआईआईटी विश्वविद्यालयको विस्तारमा रोक लगाउन र दोषी प्रशासनिक अधिकारीहरूविरुद्ध विभागीय कारबाही गर्नुपर्ने सिफारिस गरेको छ। समितिले क्याम्पस भ्रमण, सरोकारवालासँग अन्तर्क्रिया र दस्तावेजीय विश्लेषणपछि उक्त निष्कर्ष निकालेको हो।

यस प्रकरणले भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाप्रति पनि गम्भीर प्रश्न खडा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो