April 19, 2026

दंगीशरणमा सार्वजनिक सुनुवाइ सम्पन्न, सेवाग्राहीका सुझाव आत्मसात गर्ने प्रतिबद्धता

0

दंगीशरण, ६ असार ।
दंगीशरण गाउँपालिकाले चालु आर्थिक वर्षभरि सञ्चालन गरेको सेवा प्रवाह र प्रभावकारिता सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ। सेवाग्राही र सेवा प्रदायकबीचको सम्बन्ध सुदृढ गर्दै सेवा गुणस्तर अभिवृद्धि गर्न कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा बोल्दै गाउँपालिकाका सूचना अधिकारी टेकबहादुर खत्रीले, सार्वजनिक सुनुवाइको उद्देश्य जनप्रतिनिधि र कर्मचारीहरूलाई जनताप्रति उत्तरदायी बनाउनु रहेको बताए। “सार्वजनिक सुनुवाइ ऐनाजस्तै हो। त्रैमासिक रूपमा सेवा तथा कामको मूल्यांकन आवश्यक छ,” खत्रीले भने।

कार्यक्रममा उठेका प्रश्न, सुझाव र गुनासोलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले, “सेवाग्राहीका आवाजलाई सम्मान गर्दै, उनीहरूले दिएका सुझावको आधारमा अघि बढ्नेछौं,” भन्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य टोपाराम चौधरी, वडा नं. १ का अध्यक्ष रमेश भण्डारी, वडा नं. ३ का अध्यक्ष शुकलाल चौधरी, वडा नं. ६ का अध्यक्ष रोशनजंग शाहलगायतले आ–आफ्ना धारणा राखेका थिए।

त्यसैगरी, सेवाग्राहीको तर्फबाट सुशील देवकोटा, भरत वली, हरिहर बुढाथोकी, शारदा घर्ती, ज्ञानबहादुर कवर, पवित्रा डाँगी, इन्द्रलाल खत्री, लक्ष्मी भण्डारी, दिपक देवकोटालगायतले सेवा प्रवाह सुधारका लागि सुझाव प्रस्तुत गरेका थिए।

कार्यक्रममा मोबाइल एपमार्फत बहिर्गमन अभिमत, नागरिक प्रतिवेदन पत्र, र नागरिक अभिमत गरी तीन प्रकारका सेवाग्राही सर्वेक्षण प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विनोद शर्माले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो