July 14, 2025

दंगीशरणमा गोब्रे च्याउ खेती सम्बन्धी ७ दिने तालिम सुरु

0

दंगीशरण, असार ३ ।
“सीप सिकौं, आत्मनिर्भर बनौं” भन्ने मूल नाराका साथ गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गोब्रे च्याउ खेती सम्बन्धी ७ दिने तालिम दंगीशरण गाउँपालिकाको आयोजनामा मंगलबारदेखि वडा नं. ६ थपगाउँको सामुदायिक भवनमा सुरु भएको छ।

आर्थिक वर्ष २०७९/८० बाट छनोटमा परेका ‘सगुन समूह’ का उद्यमीहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिएको लघु उद्यम शाखा प्रमुख कल्पना विसीले जानकारी दिनुभयो।

तालिम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले बजारमा गोब्रे च्याउको माग दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै, सहभागी उद्यमीहरूलाई च्याउखेतीमा सफल बन्न आह्वान गर्नुभयो। कृषि उत्पादनसँग आबद्ध नभई समृद्धिको कल्पना गर्न नसकिने बताउँदै उहाँले व्यावसायिक कृषि र तरकारी खेती तर्फ अग्रसर हुन समेत सुझाव दिनुभयो।

सो अवसरमा वडा नं. ६ का अध्यक्ष रोशनजंग शाहले तालिममा प्राप्त सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर उद्यमी बन्न आग्रह गर्नुभयो।

तालिममा कृषि शाखा सहायक मानबहादुर डाँगीले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको हो।

तालिम कार्यक्रम वडा अध्यक्ष रोशनजंग शाहको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो