दंगीशरणमा १५ दिने ब्युटी पार्लर तालिम सुरु, महिलालाई आयमूलक सीपमा जोड्ने उद्देश्य
दंगीशरण, २३ जेठ
दंगीशरण गाउँपालिका वडा नं. ३ ले बेरोजगार महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले १५ दिने ब्युटी पार्लर सम्बन्धी तालिम सुरु गरेको छ। शुक्रबार एक कार्यक्रमका बीच तालिमको औपचारिक उद्घाटन गाउँपालिकाका कार्यवाहक अध्यक्ष पिमा वलि खड्काले गर्नुभयो।
वडा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत तालिमको आयोजना गरेको हो। वडाका अध्यक्ष शुकलाल चौधरीका अनुसार, वडाभित्र रहेका बेरोजगार महिलाहरूलाई सीप सिकाएर आय आर्जनमा जोड्न तालिम सञ्चालन गरिएको हो।
तालिममा सहभागी महिलाहरूले यस किसिमको व्यावसायिक सीप तालिमले भविष्यमा स्वरोजगारमा टेवा पुग्ने अपेक्षा व्यक्त गरेका छन्। तालिमको सञ्चालनमा दक्ष प्रशिक्षकहरू परिचालन गरिएको वडा कार्यालयले जनाएको छ।
वडाले आगामी दिनमा पनि विभिन्न सीपमूलक तालिममार्फत महिलाको सशक्तीकरणमा योगदान पुर्याउने प्रतिवद्धता जनाएको छ।



