April 19, 2026

दंगीशरणमा महिला प्रजनन स्वास्थ्य शिविर सम्पन्न, ५५७ महिलाको पाठेघर परीक्षण

0

दंगीशरण, १८ जेठ
दंगीशरण गाउँपालिकाले महिलाको प्रजनन स्वास्थ्यमा देखिँदै आएको समस्यालाई ध्यानमा राखी सञ्चालन गरेको पाठेघर स्क्रिनिङ तथा व्यवस्थापन सम्बन्धी स्वास्थ्य शिविर शुक्रबार वडा नं. २ मा सम्पन्न भएको छ। गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सञ्चालन गरिएको उक्त शिविर महिलामा देखिएको पाठेघरको मुखको क्यान्सर लगायतका समस्या समयमै पहिचान गरी जटिल अवस्थामा जान नदिन आयोजित गरिएको हो।

स्वास्थ्य शाखा प्रमुख प्रदीप योगीका अनुसार, शिविरको छैठौं दिनसम्म सञ्चालन भइरहँदा वडा नं. २ मा मात्रै ५५७ जना महिलाको पाठेघरसम्बन्धी स्वास्थ्य परीक्षण गरिएको हो।

स्वास्थ्य शाखा सहायक राधा शर्माले दिनुभएको जानकारीअनुसार परीक्षण गरिएकामध्ये ५०८ जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको थियो। तीमध्ये १८ जनामा क्यान्सरको आशंका गरिएको छ। त्यस्तै १९ जनामा पाठेघर खस्ने समस्याको पहिलो चरण, ६ जनामा दोस्रो चरण र ४ जनामा तेस्रो चरण देखिएको छ। २१ जना महिलामा पोलिपको समस्या भेटिएको छ भने १०५ जनाको पाठेघरको मुख सुन्निएको पाइएको छ। यसैगरी २३८ जना महिलामा अन्य प्रकारका पाठेघरसम्बन्धी समस्या देखिएको हो।

सबैभन्दा बढी परीक्षण वडा नं. ५ मा गरिएको हो।

शिविरमा सहभागी महिलाहरूले विशेषज्ञसहितको स्वास्थ्य सेवा वडामै पुगेपछि समयमै जाँच गराउन सहज भएको प्रतिक्रिया दिएका छन्। रोग लुकाएर बसिरहेका र रोग लागेको थाहा नपाएका महिलाहरूलाई पनि यस्तो शिविरले ठूलो राहत मिलाएको उनीहरूको भनाइ छ।

गाउँपालिकाले आगामी दिनमा पनि यस्ता शिविर सञ्चालन गरेर महिला स्वास्थ्यप्रति विशेष ध्यान दिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो