दंगीशरणमा जनप्रतिनिधि र कर्मचारीका लागि २ दिने कार्यसम्पादनसम्बन्धी कानुनी प्रशिक्षण सुरु
दंगीशरण, २३ जेठ
दंगीशरण गाउँपालिकाको आयोजनामा कार्यसम्पादनका क्रममा देखिने कानुनी जटिलता सम्बोधन गर्न उद्देश्यले २ दिने प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि गाउँपालिकाको केन्द्रमा सुरु भएको छ।
कार्यक्रमको उद्घाटन गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा न्यायिक समितिका संयोजक पिमा वलि खड्काको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा जनप्रतिनिधि, शाखा प्रमुख, वडा सचिवहरू लगायतको उपस्थिति रहेको थियो।
गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत आयोजित उक्त प्रशिक्षण कार्यक्रमका प्रमुख प्रशिक्षकमा माननीय जिल्ला न्यायाधीश तेजनारायण पौडेल तथा जिल्ला न्यायाधिवक्ता योगेन्द्र ढुङ्गेल रहनुभएको छ।
कार्यक्रमबारे जानकारी दिँदै संयोजक पिमा वलि खड्काले भन्नुभयो, “गाउँपालिकाको कार्यसम्पादन गर्दा कानुनी प्रक्रियामा देखिने अन्योल तथा जटिलताहरू हटाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। यस्ता कार्यक्रमले संस्थागत दक्षता अभिवृद्धिमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।”
गाउँपालिकाले आगामी दिनमा पनि यस्ता ज्ञानवर्द्धक र व्यवहारिक तालिमहरूलाई निरन्तरता दिने जनाएको छ।