दंगीशरण–६ मा बेरोजगार महिलाहरूलाई लक्षित गर्दै एड्भान्स सीपमूलक तालिम सञ्चालन
दंगीशरण, २२ जेठ
दंगीशरण गाउँपालिका–६ ले आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत ४५ दिने एड्भान्स ब्यूटिसियन तालिम र ४५ दिने एड्भान्स सिलाइ–कटाइ तालिम सञ्चालन गरिरहेको छ।
वडा कार्यालयले वडाभित्र रहेका बेरोजगार तथा स्वरोजगारको खोजीमा रहेका महिलाहरूलाई आत्मनिर्भर बनाउन तालिम सञ्चालन गरिएको वडा अध्यक्ष रोशनजंग शाहले जानकारी दिनुभयो। उहाँका अनुसार, “वडाले सीपमूलक तालिमका लागि छुट्टै बजेट विनियोजन गरेको छ, जसको उद्देश्य महिलाहरूलाई स्वदेशमै रोजगारी र आयआर्जनको बाटोमा डो¥याउनु हो।”
तालिममा वडाका विभिन्न टोलहरूबाट सहभागी महिलाहरूको उत्साहजनक उपस्थिति रहेको छ। सहभागीहरू तालिमपछि आफैं व्यवसाय सञ्चालन गर्नसक्ने स्तरको दक्षता हासिल गर्ने अपेक्षा गरिएको वडा कार्यालयले जनाएको छ।
वडा अध्यक्ष शाहले तालिमलाई निरन्तरता दिँदै आगामी वर्षहरूमा पनि युवती तथा महिलालाई लक्षित सीप विकास कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो।


