दंगीशरण गाउँपालिकाद्वारा उपभोक्ता समितीका लागि योजना अभिमुखिकरण कार्यक्रम सुरु
दंगीशरण, मङ्सिर २९
दंगीशरण गाउँपालिकाले उपभोक्ता समितीहरूलाई लक्षित गरी योजना सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाको योजना शाखाद्वारा आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार सञ्चालन गरिएको उक्त अभिमुखिकरण कार्यक्रम ७ वटै वडामा पुगेर उपभोक्ता समितीका पदाधिकारीहरूलाई प्रदान गरिने छ ।
यसैक्रममा सोमबार वडा नं. ३ मा उपभोक्ता समितीका पदाधिकारीहरूका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीका अनुसार उपभोक्ता समिती गठनदेखि योजना कार्यान्वयन र भुक्तानी प्रक्रियासम्म देखिने व्यवहारिक समस्या समाधान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
गाउँपालिकाका लेखा अधिकृत ध्रुवराज न्यौपानेले योजना कार्यान्वयनका क्रममा उपभोक्ता समितीले भोग्दै आएका कठिनाइलाई मध्यनजर गर्दै सबै वडामा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले अभिमुखिकरणबाट उपभोक्ता समितीका पदाधिकारीहरूलाई भुक्तानी प्रक्रिया र योजना सञ्चालनमा देखिने समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले गाउँबस्तीमा हुने विकास निर्माणका कार्यमा स्थानीयवासीलाई श्रमदानमार्फत सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो ।
वडा नं. ३ मा सम्पन्न उद्घाटन सत्र वडा अध्यक्ष शुकलाल चौधरीको अध्यक्षतामा, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
अभिमुखिकरण तालिमका प्रमुख प्रशिक्षक लेखा अधिकृत ध्रुवराज न्यौपाने रहनुभएको थियो भने कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख भक्तिराम पाण्डेले गर्नुभएको थियो ।