बर्दियामा युवकको हत्या : पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका सहोदर भाइ महाविर पेस्तोलसहित पक्राउ
दाङ तुलसीपुर उपमहानगरपालिका–५ का १९ वर्षीय निरज चौधरीको बर्दियाको राजापुरमा भएको गोलीकाण्डमा संलग्न मुख्य आरोपी महाविर चौधरी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय राजापुरको संयुक्त टोलीले बुधबार बिहान कैलारी गाउँपालिका–५ बैजपुरबाट ५१ वर्षीय महाविर चौधरीलाई पक्राउ गरेको हो । महाविर लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता डिल्लीबहादुर चौधरीका सहोदर भाइ रहेको खुलेको छ ।
पूर्वमुख्यमन्त्री चौधरीले पनि महाविर आफूकै सहोदर भाइ भएको पुष्टि गर्दै उनलाई प्रहरीले पक्राउ गरेको जानकारी पाएको बताए ।
राजापुर नगरपालिका–४ स्थित ‘हमार थारू रेष्टुरेन्ट’मा भएको विवादपछि निरजमाथि गोली प्रहार गरिएको थियो । गम्भीर घाइते निरजलाई नेपालगञ्ज पुर्याएपछि मात्र प्रहरीलाई घटनाबारे जानकारी भएको थियो । गोली प्रहारपछि महाविर मोटरसाइकल चढेर कैलालीतर्फ भागेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय राजापुरका डीएसपी कबिन्द्रसिंह बोहराका अनुसार कैलाली प्रहरीको समन्वयमा महाविरलाई हसुलियाबाट नियन्त्रणमा लिईएको हो । पक्राउसमेत उनको साथबाट एक थान पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद पेस्तोल नै हत्यामा प्रयोग भएको हो/होइन भन्ने पुष्टि फरेन्सिक परीक्षणपछि मात्र हुने छ ।
घटनामा संलग्न रेष्टुरेन्ट सञ्चालक दम्पती रामकुमारी चौधरी र बुद्धिप्रसाद चौधरी, तथा उनका छोरा राहुल चौधरीलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
महाविर फरार हुँदा निरजकै मोटरसाइकल लिएर भागेको पनि खुलेको छ । प्रहरीले मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ ।

