नेपाली कांग्रेस विचार र सिद्धान्तको स्रोत: काङ्ग्रेस नेता केशव अचार्य
दंगीशरण, भाद्र १७ — नेपाली कांग्रेस विचार र सिद्धान्तको स्रोत रहेको दाबी गर्दै नेपाली कांग्रेस दाङका नेता तथा महाधिवेशन प्रतिनिधि केशव आचार्यले पार्टीभित्र असहयोग गर्नेहरूलाई बाहिरिन सुझाव दिनुभएको छ।
नेपाली कांग्रेस दंगीशरणले वडा नं–५ सलौरास्थित योगहलमा आयोजना गरेको ३९ औं नियमित बैठकमा प्रमुख अतिथि आचार्यले पछिल्लो समयमा पार्टीभित्र अनुशासनको कमी देखिएको उल्लेख गर्दै पार्टी शुद्धीकरण आजको प्रमुख आवश्यकता भएको बताउनुभयो। उहाँले केही व्यक्तिहरूको स्वार्थपूर्ति गर्ने प्रवृत्तिले पार्टीलाई नै बदनामित गर्ने प्रयास भइरहेको भन्दै दुःख व्यक्त गर्नुभयो।
बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेस दंगीशरणका सभापति तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफू निर्वाचित भएपछि दंगीशरणलाई सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाउन लागेको तर आन्तरिक रूपमा असहयोग र गलत प्रचारको प्रयास भइरहेको गुनासो गर्नुभयो। पार्टीभित्रै आफ्ना कामको मूल्याङ्कनमा कञ्जुस्याइँ हुनु दुःखद रहेको उहाँको भनाइ थियो।

बैठकले पार्टी सदस्यता नवीकरण, आगामी घुम्ती बैठकको मिति र स्थानबारे निर्णय गर्दै अस्वस्थ रहेका नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि सोमराज सुनारको स्वास्थ्यलाभको कामना गरेको छ। साथै, आगामी असोज १७ गते ४० औं नियमित बैठक वडा नं–४ मा गर्ने निर्णय समेत गरिएको छ।
बैठकमा नेपाल ट्रेड युनियन दाङका अध्यक्ष तिर्थ न्यौपाने, पूर्व जिल्ला कोषाध्यक्ष डिल्लीराज आचार्य, कांग्रेस दंगीशरणका प्रवक्ता गोविन्द प्रसाद आचार्य, ७ वटै वडाका सभापति, क्रियाशील सदस्य लगायतले आ–आफ्ना धारणा राखेका थिए। उपसभापति दुर्गा बोहराले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।

बैठकको अध्यक्षता नेपाली कांग्रेस दंगीशरणका सभापति शम्भु गिरीले गर्नुभएको थियो भने प्रमुख अतिथि नेता आचार्य र विशिष्ट अतिथि कांग्रेस दाङका सदस्य सोभाकार न्यौपाने हुनुहुन्थ्यो। कार्यक्रममा उपसभापति गिरिराज न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो। बैठकको सहजीकरण पार्टी सचिव ओपेन्द्र राज शर्माले गर्नुभएको थियो।