मितेरी सहकारी ठगी प्रकरणमा सांसद धनराज गुरुङ निर्दोष, पूर्वपत्नीविरुद्ध ३० करोडको बिगो
काठमाडौं — मितेरी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति तथा संघीय सांसद धनराज गुरुङमाथि लागेको शंकाबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उन्मुक्ति दिएको छ। तर, उनकी पूर्वपत्नी ज्योति गुरुङविरुद्ध भने प्रतिवादी बनाउँदै ३० करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ।
अमेरिकामा बसोबास गर्दै आएकी ज्योति गुरुङमाथि सहकारीको १२ करोड ९४ लाख ८९ हजार ३५७ रुपैयाँ अपचलनको आरोप छ। ब्याजसहित यो रकम १४ करोड ८१ लाख रुपैयाँ पुगेको सहकारीको दाबी छ।
धनराज र ज्योतिबीच २०७६ साल फागुन २९ गते सम्बन्धविच्छेद भए पनि सहकारीले उक्त प्रक्रिया केवल ‘कागजी’ भएको भन्दै दुवैको संलग्नता देखाएको छ। सहकारीका अनुसार २०७७ साल फागुन ३ गते धनराजले सहकारीबाट १२ लाख रुपैयाँ ऋण लिँदा ज्योतिको नामलाई हकवाला भनी उल्लेख गरेका थिए।
यस्तै, २०७९ साल मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा पनि उनले ज्योतिको नाम “श्रीमती” भनी उल्लेख गरेका थिए।
यही आधारमा उच्चस्तरीय छानबिन समितिले धनराजमाथि पनि अनुसन्धान गर्न सिफारिस गरेको थियो। तर, सिआइबीले हालसम्मको प्रमाणका आधारमा उनको प्रत्यक्ष संलग्नता नदेखिएको भन्दै प्रतिवादी नबनाउने निर्णय गरेको हो।
