पाँच वर्षपछि कांग्रेस पश्चिम दाङका छ नेता पार्टीमा पुनरागमन
दाङ, २७ साउन
नेपाली कांग्रेस पश्चिम दाङका छ जना नेताले पाँच वर्षको निष्कासनपछि पुनः पार्टीमा फर्किएका छन्। पार्टीको अनुशासन उल्लङ्घन गरेको आरोपमा कारबाहीमा परेका उनीहरूको अनुशासन फुकुवा गर्दै पुनः सक्रिय हुने अवसर प्रदान गरिएको हो।
कारबाही फुकुवा हुनेमा शान्तिनगर गाउँपालिका–५ का हेमन्तकुमार योगी र निमबहादुर बस्नेत, शान्तिनगर–२ का तारा वली, दंगीशरण गाउँपालिका–६ का बालाराम डाँगी, दंगीशरण–५ का सुनिल न्यौपाने र तुलसीपुर उपमहानगरपालिका–३ का मोहन गुरुङ रहेका छन्।
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले साउन २२ गते दाङ जिल्ला पार्टी सभापति शंकरप्रसाद डाँगीलाई पत्रमार्फत निर्णय सुनाएका थिए। गत असार १० गते यी नेताहरूले पार्टीप्रति पूर्ण प्रतिबद्धता जनाउँदै समितिमा निवेदन दिएका थिए। सोही निवेदनलाई स्वीकार गर्दै समितिले उनीहरूको कारबाही फुकुवा गरेको हो।
