दंगीशरण–४ र ५ जोड्ने सडक कालोपत्रेका लागि स्टिमेट तयार
दंगीशरण, साउन १
दंगीशरण गाउँपालिका–५ र ४ लाई जोड्ने नन्द्रागाउँ, सलौरा, मौली हुँदै सुकदेवा जाने सडक आगामी आर्थिक वर्षमा कालोपत्रे गरिने भएको छ। शहरी विकास मन्त्रालय, सिंहदरबार काठमाडौँबाट प्रकाशित “रातो किताब” अन्तर्गत दाङ क्षेत्र नं.–३ को योजनामा समावेश यस सडकको लागि तीन शीर्षकमा गरी ९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
बजेट कार्यान्वयनका लागि बिहीबार सडक डिभिजन कार्यालय घोराही र संघीय शहरी विकास कार्यालयको टोलीले दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीसहित स्थलगत अवलोकन गर्दै स्टिमेट तयार पारेका छन्।
यस्तै, स्थानीय पूर्वाधार विकास कार्यालय बुटवलले पनि चाँडै इस्टिमेट तयार गरी टेन्डर आह्वान गर्ने तयारी भइरहेको जनाइएको छ। तीनै कार्यालयबाट ३/३ करोड रुपैयाँको दरले तीन खण्डमा सडक कालोपत्रे गरिने योजना रहेको गाउँपालिका अध्यक्ष गिरीले जानकारी दिनुभयो।
कुल ६.४ किलोमिटर लामो जुरपनिया ० पोइन्टदेखि नन्द्रागाउँसम्मको सडक प्रीमिक्स कालोपत्रे गरिने छ।
अध्यक्ष गिरीका अनुसार, तीनवटै कार्यालयसँग निरन्तर समन्वय भइरहेको छ र छिट्टै टेन्डर प्रक्रिया अघि बढाइने छ।
सडक कालोपत्रे भएपछि वडा नं. ४ र ५ का स्थानीयवासीहरू प्रत्यक्ष लाभान्वित हुने विश्वास लिइएको छ।
